मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण रोक्न एमाले उपमहासचिव पौडेलको सरकार सँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण रोक्न एमाले उपमहासचिव पौडेलको सरकार सँग आग्रह

बुटवल । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भैरहेको अतिक्रमण रोक्न सरकारसँग आग्रह गरेका छन् । औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेर बसेको उल्लेख गर्दै उनले तत्काल अतिक्रमण रोकेर निर्माणको काम अघि बढाउन माग गरे ।

शनिबार रुपन्देही उद्योग संघको ४३औं वार्षिक साधारणसभा तथा २२औं अधिवेशनको उदघाटन गर्दै उनले उद्योग कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न मोतिपुर औद्योगिक करिडोरको कामलाई अघि बढाउन आग्रह गरे । निजी क्षेत्रको मनोबल घट्दा आर्थिक विकासमा असर पुग्ने भएकाले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्नेमा पौडेलले जोड दिए । 

आफू अर्थमन्त्री हुँदा ल्याइएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यस समयमा ल्याइएको नीतिलाई वर्तमान सरकारले कार्यान्वयन नगरेर मौन बसेको आरोप लगाए । वर्तमान सरकारले आफूले ल्याएको नीतिलाई विरोध गर्न पनि नसक्ने र कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उनले उल्लेख गरे ।

फरक प्रसङ्गमा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले बुटवलको ज्योतिनगर पहिरो समस्याको दीर्घकालिन समाधान खोज्न पनि सरकारलाई आग्रह गरेका छन् । यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगायतका विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);