तिब्बतबाट आयात हुन छाडेपछि महङ्गियो खसीबोकाको दाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तिब्बतबाट आयात हुन छाडेपछि महङ्गियो खसीबोकाको दाम

ताप्लेजुङ । दशैँ चाडपर्वको समयमा ताप्लेजुङमा खसीबोका महङ्गिएको छ । सदरमुकाम फुङ्लिङ बजारस्थित प्रत्येक हप्ताको शनिबार लाग्ने हाटमा नियमित खरीद/बिक्री हुने मूल्यको तुलनामा दशैँ चाड चित्रिएसँगै खसीबोकाको मूल्य आकासिएको हो ।

चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् । उपभोक्ताकाअनुसार सामान्य समयमा भन्दा चाडपर्वका बेला खसीबोका निक्कै महङ्गो पर्ने गरेको छ । शनिबारको हाटमा अन्दाजी १५ किलोग्रामको खसीलाई १४ देखि १६ हजार रुपैयाँसम्म मूल्य तिर्नुपरेको उपभोक्ताले बताएका छन् । 

चाडपर्वभन्दा अरु समय अर्थात नियमित हाट बजारमा उक्त तौल भएको खसीबोकाको मूल्य ११ देखि बढीमा १३ हजार रुपैयाँसम्म पर्ने उपभोक्ताको भनाइ छ । खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्य पनि चाडपर्वको समयमा महङ्गिएको उपभोक्ता बताउँछन् । सधैं तीन हजार रुपैयाँ सम्ममा पाउने पाठापाठी शनिबारे हाटमा प्रतिगोता पाँच हजार रुपैयाँसम्म मूल्य तिर्नुपरेको फुङ्लिङ नगरपालिका–४ का रामकुमार लिम्बूले बताए । 

ग्रामीण क्षेत्रमा दशैँ तिहारजस्ता चाडपर्वलाई भनेर प्रायः स्थानीयले घरमै खसीबोका पाल्ने गर्दछन् भने शहर बजारका बासिन्दाले हाट तथा कुनै पनि बिक्रेताबाट खरीद गर्नुपर्ने हुँदा महङ्गो मूल्य तिर्नुपर्ने अवस्था छ । चाडको समयमा मासु साथै मार हान्ने र बली पूजा गर्ने संस्कार रहिआएकाले आवश्यक खसीबोका तथा पाठापाठीका लागि बिक्रेताले भनेअनुसार मूल्य तिर्नुपर्ने बाध्यता रहने गरेको लिम्बूले बताए ।

यता व्यापार तथा व्यावसायिक सोच योजना राख्ने स्थानीयले पनि चाडपर्वको समयमा राम्रो मूल्य पाउने अपेक्षासहित खसीबोका पाल्ने गरेका छन् । चाडपर्वको मौकामा राम्रो फाइदा लिनेगरी गाउँघरमा पालेका खसीबोका हाट बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । फुङ्लिङमा लाग्ने हाटमा जिल्लाको निघुरादिन, फुलबारी र छिमेकी पाँचथरको अमरपुर क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् । 

चाडपर्वको मौकामा स्थानीय व्यापारीले खसीबोका हाटमा ल्याएर प्रतिकिलोग्राम एक हजारदेखि एघार सय रुपैयाँसम्म लिनेगरी मूल्य राखेर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वका बेला बिक्रेताको योजनाअनुसार तौल हेरी खसीबोकामा प्रतिगोटा पाँचदेखि सात हजार रुपैयाँसम्म नाफा लिन्छन् भने उपभोक्ता वा खरीदकर्ताले सोहीअनुसार महङ्गो मूल्य तिर्ने गर्दछन् ।

केहीवर्ष यतादेखि चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुन छोडेकाले पनि यहाँ खसीबोका महङ्गिएको उभोक्ताको भनाइ छ । तीन/चार वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला ओलाङ्चुङगोला नाका हुँदै तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गर्दथ्यो । त्यसबेला खसीबोका धेरै नै सस्तो हुने गरेको स्थानीयको अनुभव छ । पछिल्लो दुई वर्षयता कोरोना महामारी र महामारी सुरु हुनुभन्दा अघि चिनियाँ मुद्राको मूल्य बढेको भन्दै व्यवसायीले भेडा–च्याङ्ग्रा आयात गर्न छोडेका छन् । 

फुङ्लिङस्थित शनिबारे हाटमा खसीबोका खरीद/विक्री गरिँदै । तस्बिर : न्युज कारखाना

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);