बाहिर रणभूमी भित्र शिलन्यास, स्थानीयको विरोधकाबीच पनि मन्त्री पौडेलद्वारा शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाहिर रणभूमी भित्र शिलन्यास, स्थानीयको विरोधकाबीच पनि मन्त्री पौडेलद्वारा शिलान्यास

रुपेन्देही, २१ फागुन । स्थानीयको विरोधका बीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार कडा सुरक्षाघेरामा बसी औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्दा कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो । पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्केका छन्।

अर्थमन्त्री विष्णु पौडेल औद्योगिक क्षेत्र शिलान्यासका लागि कार्यक्रम स्थल पुग्नुअघि नै स्थानीयहरुको ठूलो भिड लागेको थियो । जहाँ स्थानीयले वैकल्पिक व्यवस्था विना हटाउन लागेकोमा आक्रोश पोखेका थिए । स्थानीयको भिडलाई छिचोल्दै अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासका लागि अघि बढे । बाक्लो सुरक्षाकर्मीको माझ शिलान्यास स्थल पुगेका अर्थमन्त्री पौडेल सवार गाडी माथि स्थानीयले ढुंगा प्रहार गर्न थाले ।

स्थानीयको नाराबाजी र आक्रोस जारी थियो । तर, सुरक्षाघेराबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेरै छाडे । शिलान्यास पछिको समारोहमा नाराबाजीका बीच मन्त्री भट्टले सम्बोधन गरेपनि अर्थमन्त्री पौडेलले पुरा बोल्न समेत पाएनन् । आक्रोशित स्थानीयले मञ्चमा ढुंगा प्रहार गर्न थाले । स्थानीयले विजुलीको लाइन काटिदिए । त्यसपछि अर्थमन्त्री पौडेल सम्बोधन बीचमै रोकेर निस्के । कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेका थिए । कार्यक्रम सकिए लगत्तै स्थानीयले शिलान्यास स्तम्भ तोडफोड गरेका छन् ।

आफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतीपुर क्षेत्रका स्थानीयले सुरुदेखि नै विरोध जनाउँदै आएका थिए । शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी स्थानीयले दिएका थिए ।

बिहीबार राति कार्यक्रम स्थलको मञ्च समेत स्थानीयले भत्काइदिएका थिए । कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी र जनपद प्रहरी घाइते भएको बताइएको छ । अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानै देखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडीबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेका थिए ।

पौडेलले सम्बोधन बीचमै रोकेर हिंडेपनि सो क्षेत्रमा तनाव भने रोकिएको छैन । शिलान्यास गरिएको क्षेत्र भत्काएका छन् । यता अर्थमन्त्री पौडेलले भने पत्रकार सम्मेलन गरि विकास विरोधीहरुले पर्दापछाडिबाट स्थानीयलाई उचालेको आरोप लगाएका छन्।

सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरेपनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । मोतीपुर औद्योगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८ सय १३ बिगाहा जमिन मध्ये २ सय ५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् । स्थानीयको विरोधका विच सुरक्षाघेरामा आयोजना त शिलान्यास भएको छ, तर यसले औद्योगिक क्षेत्रको आगामी निर्माण सहजै हुन भने कठिन देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);