प्रकाश बुभुक्षित
काठमाडौं, ५ भदौ । देशकै पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसले १०१ औं स्थापना दिवस मनाएको छ । राजनीति, साहित्य तथा प्रशासनको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उच्च शिक्षाको प्रस्थान विन्दु रहेको त्रिचन्द्र कलेजको भौतिक अवस्था भने अत्यन्त नाजुक बन्दै गइरहेको छ ।
तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं. १९७५ भदौ ५ गते संयुक्त रुपमा त्रिचन्द्र कलेजको उद्घाटन गरेका थिए । विधिवत् रुपमा त्रिचन्द्र कलेजमा आई.ए र आई.एस्सीको पठनपाठन प्रारम्भ भएपनि विक्रम संवत् २०१६ सालमा त्रिभुवन विश्वविद्यालय नखुल्दासम्म त्रिचन्द्र क्याम्पसको सम्बन्धन भने पटना विश्वविद्यालयसँग रहेको थियो ।
देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा हाल एघार हजार विद्यार्थी अध्ययन गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
विद्यार्थी र प्राध्यापकहरुमा अस्वभाविक दलीय राजनीतिक गतिविधि बढ्दै गएकाले पछिल्लो समय क्याम्पसमा विद्यार्थीको चाँप घट्न थालेको सरोकारवालाहरुको भनाइ छ ।
साथै त्रिचन्द्र क्याम्पसको भौतिक पूर्वाधार पनि जीर्ण बन्दै गएको छ । सम्बन्धित निकायले चासो नदेखाउँदा जीर्ण अवस्थामा रहेको पूर्वाधारको पुनर्निर्माण हुनसकेको छैन ।