दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

झापा । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु, राप्रपाको राप्रविसंघ र विप्लवका नेकपाको अखिल क्रान्तिकारीले तीन दिनयता क्याम्पसमा आन्दोलन गर्दै आएको छ । विद्यार्थी संगठनले क्याम्पसमा कालो झण्डा राख्ने, नाराजुलुसलगायतका कार्यक्रम गरिरहेको विद्यार्थी नेता संजय राईले बताए । उनका अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी लगाउने कार्यक्रमसमेत छ । 

समयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएर खाली भएको मौका छोप्दै क्याम्पस प्रशासनले छात्रवृत्ति रकम वितरणमा रोक लगाएको स्ववियु दमक क्याम्पसका निवर्तमान कार्यवाहक अध्यक्ष रोशन भण्डारीले बताए । ‘अन्तिम पटक स्ववियुको पहलमा बाँडिएको थियो । त्यसपछि बन्द छ । यो क्याम्पस प्रशासनको लापरबाही हो । क्याम्पस प्रशासनले कोरोनाले बाँडिन भन्छ,’ उनी भन्छन्, ‘विद्यार्थीबाट शुल्क उठाउन कोरोना हुने । छात्रवृत्ति वितरणमा कोरोना लाग्ने?’ 

उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन क्रियाशील हुँदा क्याम्पस प्रशासनले विद्यार्थी कल्याण कोषबाट ५४ लाख रुपैयाँ कागज गरेर सापटी लगेको बताए । तर, हालसम्म प्रशासनले त्यो कोषमा जम्मा नगरेको उनको भनाइ छ ।

‘विद्यार्थीले तिरेको शुल्कबाट अहिले पनि विद्यार्थी कल्याण कोषमा गइरहेको छ । त्रिविको नियमावलीमा पनि छात्रवृत्ति दिनुपर्ने अनिवार्य छ । तर, क्याम्पसले त्रिविको नियमावली नै मिच्यो,’ उनी भन्छन्, ‘यो क्याम्पसमा कुनै महँगा कलेज पढ्न सक्ने विद्यार्थी पढ्दैनन् । वर्षभरि खेती गरेर आएको पैसाले पढाउनेका छोराछोरी पढ्छन् । यहाँ पढाएर अन्य क्याम्पसमा लगानी गर्नेले कसरी बुझ्छन् यो पीडा ? समस्या समाधान नगर्ने भए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’

क्याम्पसमा दुई वर्षअघि स्ववियुको पहलमा दातृ निकाय आइओएमबाट बस ल्याइएको थियो । तर, बस क्याम्पसले हालसम्म सञ्चालन गर्न नसक्दा विद्यार्थीले समस्या झेल्नुपरेको स्ववियुका निवर्तमान कोषाध्यक्ष सुनिल धिमाल बताउँछन् । ‘सार्वजनिक बस रोक्दैनन् । टाढाटाढाबाट आउने विद्यार्थीलाई समस्या हुन्छ,’ उनी भन्छन्, ‘क्याम्पस प्रशासनले बस चलाउँदैन ।’ 

क्याम्पस प्रशासनले बस कर्मचारी र प्राध्यापकको पिकनिकका लागि मात्र प्रयोग गर्ने गरेको उनी बताउँछन् । ‘क्याम्पसले बस मर्मतका लागि मासिक खर्च गरिरहेको छ । पिकनिकमा पनि लगेर गएको छ,’ उनी भन्छन्,‘विद्यार्थी बोक्दैन । विद्यार्थी बोक्दा यहाँका सरहरूको लगानी रहेको नजिकको निजी क्याम्पसमा विद्यार्थी घट्ने चिन्ता छ, उहाँहरूलाई । निजी क्याम्पसका बस विद्यार्थीको घर–घरमा पुग्छ । हाम्रो छैन ।’

यद्यपि क्याम्पस प्रशासनले भने एउटा मात्र बस भएकाले सञ्चालन गर्न नसकिएको जनाएको छ । ‘विद्यार्थी धेरै छन् । एउटा बसले धान्न सक्दैन । चारतिर जान पनि सक्दैन,’ क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले भने, ‘त्यसकारण बस चलाउन सकेका छैनौँ ।’ 

क्याम्पस प्रमुख बुढाथोकीले कोरोनाका कारण दुई वर्षदेखि छात्रवृत्ति बाँड्न नसकिएको बताए । ‘विद्यार्थीको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्छौँ,’ उनले भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);