कञ्चनपुरको जनज्योति क्याम्पसका विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरको जनज्योति क्याम्पसका विद्यार्थी आन्दोलित

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको जनज्योति क्याम्पसमा नियमित पठन पाठनको माग अघि सार्दै क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुख खेमलाल घिमिरेको कार्यकक्षमा समेत तोडफोड गर्नुका साथै कुर्सी जलाएका छन् ।

विद्यार्थीको आन्दोलनका कारण कञ्चनपुरको जनज्योति क्याम्पसमा अहिले नियमित पठन हुन सकेको छैन । शिक्षकको अनुपस्थितिमा पठन पाठन नभएपछि नियमित पठनपाठनको माग गर्दै क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बैशाखको पहिलो सातादेखि विभिन्न विषयका प्राध्यापकहरु क्यापसमा उपस्थित नहँुदा पढाई प्रभावित भएको भन्दै विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका छन् । सोमबार तीन विद्यार्थी संगठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले बिहान क्याम्पस प्रमुख घिमिरेको कुर्सी जलाई दिएका हुन् ।

जनज्योती क्याम्पसका विद्यार्थीहरुले नियमित पठनपाठन नभएको हुँदा आफुहरु आन्दोलनमा उत्रिनु परेको बताएका छन् । पटक पटक क्याम्पस प्रमुखलाई नियमित पठन पाठनको माग राख्दा समेत गैर जिम्मेवारीपन देखाएका कारण तोडफोडमा उत्रन बाध्य भएको विद्यार्थी नेताहरुको भनाई छ ।

विद्यार्थीको आन्दोलनका कारण अहिले क्याम्पस ठप्प भएको छ । बिहानैदेखि तोडफोड, आगजनी भएपछि सोमबारको पठनपाठन समेत ठप्प भएको क्याम्पसले जनाएको छ । सहायक क्याम्पस प्रमुख वीरेन्द्र साउदले विद्यार्थीका मागहरु जायज रहेको भन्दै क्याम्पस प्रशासनले यसमा ध्यान दिनुपर्ने र विद्यार्थीहरुका माग सम्बोधन हुनुपर्ने बताए ।

स्नातक तहसम्म पढाई हुने कञ्चनपुरको जनज्योति क्याम्पसमा एक हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षकको अनुपस्थितिले पठनपाठन नभएपछि अहिले विद्यार्थी र अभिभावक चिन्तित छन् ।

सञ्चालक समिति सहित स्थानीयको अग्रसरतामा क्याम्पसमा लगाइएको ताला खोल्ने र विद्यार्थीको माग अनुसार पठनपाठनलाई निरन्तरता दिने विषयमा पहल भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);