विद्युत् प्राधिकरणको नाफा एक अर्ब एक करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विद्युत् प्राधिकरणको नाफा एक अर्ब एक करोड

nepal bidhut pradhikaran

फूलमाया आले
काठमाडौं, १ भदौ । सार्वजनिक संस्थानहरु निरन्तर घाटामा गइरहेकाबेला नेपाल विद्युत् प्राधिकरण भने विस्तारै नाफामुखी बन्न थालेको छ । सिमित विद्युत् उत्पादन, कमजोर स्रोत साधन र पुरानै दरबन्दीमै कर्मचारी परिचालनबाटै प्राधिकरण पछिल्लो दुई वर्षमा निरन्तर नफामा जान थालेको हो ।

कुनै बेला टाट पल्टन लागेको संस्थानका रुपमा देखापरेको नेपाल विद्युत् प्राधिकरण अहिले भने नाफामुलक संस्थानका रुपमा दरिएको छ । प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको आगमनसँगै १८ घण्टे लोडसेडिङको अन्त्य र अनाधिकृत रुपमा हुने विद्युत चुहावत लगभग रोकिएको अवस्था छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले ३३ औँ वार्षिकोत्सव मनाउँदैगर्दा ६० अर्ब ४८ करोड आय गर्न प्राधिकरण सफल भएको छ ।

गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले १ अर्ब १ करोड भन्दा बढी खुद नाफा गर्न सफल भएको छ । लोडसेडिङ अन्त्य र चुहावट नियन्त्रणमा प्राप्त सफलताका कारण प्राधिकरण नाफामा जान सम्भव भएको हो । लोडसेडिङको अन्त्यसँगै बिजुलीको सहज आपूर्ति भएपछि सहरी क्षेत्रमा विद्युत् खपत बढेको र ग्रामिण क्षेत्रमा विद्युतीकरणलाई तिब्र पारिएकाले पनि  आम्दानी बढाउन सम्भव भएको प्राधिकरणले दाबी गरेको छ ।

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको नेपालकै हालसम्मको ठूलो स्वचालित २ सय २० र १ सय ३२ केभी ढल्केबर सबस्टेसन पनि संचालनमा ल्याइएको छ । यो सँगै करिब २ सय ७० देखि ३ सय मेगावाटसम्म बिजुली आयात तथा निर्यात गर्न सकिने प्राधिकरणले दाबी गरेको छ ।

त्यस्तै प्राधिकरणको विद्युत खरिद सहित कुल सञ्चालन खर्च ५२ अर्ब ६२ करोड पुगेको जनाएको छ । प्राधिकरणमा हाल ९ हजार १ सय २३ स्थायी कर्मचारी रहेकाछन् । आर्थिक वर्ष २०७४-७५ मा निजी क्षेत्रका थप १५ वटा जलविद्युत आयोजनाबाट करिब ७२ मेगावट बराबरको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनुका साथै हालसम्म निजी क्षेत्रको ७५ वटा आयोजनाबाट करिब ५ सय १३ मेगावाट बराबरको विद्युत राष्ट्रिय प्रणालीमा जडान भएको जनाइएको छ ।

आगामी दिनमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिक रुपमा सक्षम र व्यवसायिक संस्थाको रुपमा विकास गर्ने उदेश्य रहेको प्रमुख घिसिङले बताए । त्यस्तै तराईका औद्योगिक करिडोर र काठमाडौ लगायतका मुख्य शहरहरुमा आगामी  १० वर्ष भित्र  १० हजार मेगावट विद्युत आपूर्ति गर्न सक्ने प्रणाली विस्तार गर्ने योजना पनि प्राधिकरणले बनाएको छ ।

आगामी आर्थिक वर्ष भित्रमा माथिल्लो तामाकोसी र केही निजी प्रवद्धकका जलविद्युत आयोजना सञ्चालनमा आउने भएकोले करिब ६ सय मेगावट भन्दा बढी विद्युत थप हुने अपेक्षा प्राधिकरणले गरेको छ । हाल निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि आगामी २ देखि ३ वर्ष भित्रमा करिब १२ सय मेगावट विद्युत विद्यमान प्रणालीमा थप हुने अवस्था रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);