ठेकेदारले तुहाए बारपाकको सडक सपना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

ठेकेदारले तुहाए बारपाकको सडक सपना

Gorakha-Barpak

गोरखा, २६ साउन । विगत बिर्सने प्रयास गर्दै बारपाकका भूकम्पपीडित जितबहादुर घलेले भने, ‘जे नहुनु भइहाल्यो । अब बाँचेकाहरूको पीडा भुलाउन राज्यले केही सुविधा दिनुपर्छ भन्ने हाम्रो माग थियो, त्यतिबेलाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ, उहाँबाट दुई वर्षभित्र बारपाकसम्म पिच सडक आउने आश्वासन पायौं । यो आश्वासनका आधारमा हामीले आँसु पुछ्ने प्रयास गरेका थियौं । तर ४० महिना बितिसक्यो एक किलोमिटर पनि पिच थपिएको छैन ।’

अहिलेको सडक हिउँदमा मात्र काम लाग्ने बताउँदै उनले भने, ‘बर्खाको तीन महिना बारपाकमा गाडी नै चल्दैन ।’ गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक कालोपत्रे गर्न सडक विभागले ६५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ११ किलो छेपेटार–बारपाक सडक योजना कार्यालयले चार वटा प्याकेज बनाएर टेन्डर गरेको हो । तर योजना सम्झौता गरेर ठेकेदार भागेको आरोप लगाउँदै सडक योजना कार्यालयका प्रमुख अमृतमणि रिमालले निर्धारित काम हुन नसकेको बताए ।

रिमालका अनुसार पहिलो खण्डको ८ किलोमिटर सडक कालोपत्रे गर्न नौ करोड ३७ लाख रुपैयाँको ठेक्का आह्वान भएको थियो । नागार्जुन त्रिशूली जेभी कम्पनीले २०७२ मंसिरमा सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको थियो तर काम सम्पन्न नगरेपछि फेरि ०७३ चैत ३० सम्म म्याद थप गरिएको थियो । थपिएको म्यादभित्र अलिकति पनि काम नभएको सडक योजना कार्यालयले जनाएको छ । कार्यालयले ठेकेदारसँग ७० लाख रुपैयाँ जमानत जफत गरिसकेको जनाएको छ ।

त्यस्तै दोस्रो खण्डको ५ किलोमिटर सडक कालोपत्रे गर्न कन्काई गोरखा जेभी कम्पनीले ११ करोड ९४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सोको पनि अहिलेसम्म ५५ प्रतिशत मात्र काम भएको साइट सबइन्जिनियर रेयोन फुयाँलले बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।