बजेट सक्न राजधानीका सडक धमाधम पिच गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बजेट सक्न राजधानीका सडक धमाधम पिच गरिंदै

chabahil-sankhu sadak

काठमाडौं, २९ जेठ । जब वर्षात् शुरु हुन्छ तब धमाधम सडकमा कालोपत्रे गरेको यत्रतत्र देख्न सकिन्छ । यस्तो काम अहिले मात्र होइन हरेक वर्ष असार लाग्ने बेलामा खासगरी मुख्य सहरी क्षेत्रमा देख्न सकिन्छ । वर्षभरी सम्पन्न हुन नसकेको सडक मर्मत सम्भार होस वा कालोपत्रे जेठमा शुरु गरेर असार मसान्तसम्म सक्ने गरिन्छ ।

वर्षात् शुरु भएपछि मुख्य सडकहरुमा पिच माथि पिच गर्न थालिएको राजधानी काठमाडौंका सडकहरुमा देख्न सकिन्छ । कतै हिलो धुलो र खाल्डाखुल्डी देखिन्छ त कतै पिच माथि फेरी पिच गरिरहेको देखिन्छ ।

यस्तो काम मुख्य प्रशासनिक भवन सिंहदरवार आसपासकै क्षेत्रमा देख्न पाइन्छ । अलि परका सडकमा हिलो धुलो र खाल्डाखुल्डी पार गरि शहरका मुख्य सडकमा प्रवेश गरेका सर्वसाधारणलाई यो देख्दा अचम्म पनि लाग्छ । सफा चिल्लो पिच माथि पिच किन गरेको होला भनेर ।

सहर भित्रै पिच नभएका धुले, हिले र खाल्डाखुल्डी भएका सडक पनि प्रशस्तै छन् । तर त्यहाँ न ग्राभेलिङ गरेर पुरिएको छ न पिच गर्ने कुनै सुरसार नै छ । पिच गरिंदैछ त चिल्ला सडकहरुमै । आम सर्वसाधरणले हरेक दिन प्रश्न गरिरहेका हुन्छन् । आखिर किन गरिन्छ त कालोपत्रे सडक माथि कालोपत्रे ?

अरु बेला सडक विभाग वा सडक बोर्ड सुतेकै छन् कि जस्तो हुन्छ । जब वर्षात शुरु हुन्छ अनि सडक सम्याउने र पानी जमेकै ठाउँमा पनि पिच गर्ने गरिन्छ । जसलाई असारे विकासे काम, पैसा उडाउने मेलो भनेर सर्वसाधरणले सरकारमथि व्यंग्य गरिरहेका हुन्छन् । वर्षभरी नसकिएका सडकका कामहरु जेठ असारमा जेठ असार महिना मै गर्नु पर्ने हो त ?

वर्षातमा सडक पिच गर्नै हुँदैन । हतार हतारमा सम्पन्न गरिने सडकका कालोपत्रे गुणस्तरीय पनि हुँदैन । गरेको केही दिनपछि नै पिच उप्किन थाल्छ । यो कुरा सडक विभाग र सडक बोर्ड अनि त्यसमा खटिने इन्जिनियरलाई थाहा नभएको होइन ।

तर पनि जे गर्नु हुँदैन भनिएको छ, यहाँ त्यही भइरहेको छ । अनुगमन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकाय पनि काम गरुनजेल आँखा चिम्लेर बसेका छन् । उपत्यका भित्र मात्रै यो आर्थिक वर्षमा सडक मर्मत सम्भारका लागि भनी ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकमको ५० प्रतिशत खर्च जेठ महिनासम्ममा हुने भएको छ भने बांकी रकम असार भित्रमा सक्ने योजना देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);