छैनन् पैदलयात्रीमैत्री सडक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

छैनन् पैदलयात्रीमैत्री सडक

road 333

काठमाडौँ, १७ असार । जडीबुटीस्थित तरकारी तथा फलफूल बजार जाने बाटोमा केही स्थानमा जेब्राक्रस छन् । मुस्किलले तीन मिटर चौडाइको उक्त बाटोमा न फुटपाथ छ न त लेन नै । तर बाटो काट्न भनी तीनवटा सेता धर्सा भएको जेब्रा क्रस छ ।

काठमाडौं महानगरपालिकाको वडा नं ३२ मा पर्ने सोही स्थान वरपर धेरै सडक छन् यस्तै किसिमका । महानगरपालिकाभन्दा बाहिर पनि यस्ता सडक थुप्रै छन् । जहाँ कम गतिविधि वा मान्छेको आवागमन कम हुने भएकाले साँघुरो सडक बनाइयो तर केही वर्ष बित्न नपाउँदै गाडी र मानिस दुवै बढ्न गई सडकको चौडाइ कम हुन पुग्यो । ‘पिक आवर’ मा झन् हिँड्नै गाह्रो हुने गर्छ, भीडभाडबीच गाडी पनि छिर्छ । दीर्घकालीन नीति नबनाई तत्कालको आवश्यकता पूरा गर्न सडक बनाउने परिपाटीले सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ ।

केही महिनाअघि नरेफाँट जोशीचोकको मोडमा दिउँसो ११/१२ बजेको समयमा तीव्र गतिमा रहेको एउटा मोटरसाइकलले एउटा ४ वर्षीय बच्चालाई ठक्कर दियो, ती बालकको खुट्टा भाँच्चियो । घटना भएलगत्तै हेर्दाहेर्दै ती मोटरसाइकल चालक गायब भए । ‘कच्ची सडकमा पिच हाल्यो कि गाडी बढी गतिमा हुइँक्याउन थालिहाल्छन् । तर, मान्छे हिँड्न फुटपाथ हुन्न, जसले दुर्घटनाको जोखिम बढाउँछ,’ नरेफाँटकी पवित्रा रम्तेलले भनिन् ।

नरेफाँटको भित्री सडक ‘पिक आवर’ मा झन् बढी प्रयोग हुन्छ । भक्तपुरतिरबाट आएका गाडीले मनोहरा पुलमा जाम हुँदा सवारीचालक, विशेषगरी मोटरसाइकल चालक नरेफाँटको भित्री सडक प्रयोग गरी जडीबुटी निस्किने सडक प्रयोग गर्न थालेका छन् । मान्छेको भीडका बीच सवारीसाधनको चाप र छेउछाउमा पार्किङ गरी राखिएको मोटरसाइकल र कारले सडक साँघुरो बनाउँछ । पैदलयात्रीलाई दुर्घटनाको जोखिम बढाउँछ ।

यही रुटमा यातायात व्यवसायीले ठूला गाडी चलाउने प्रस्ताव गरे पनि स्थानीयले विरोध गर्दै गाडी राख्न दिएनन् । काठमाडौं महानगरपालिका ३२ नं वडा सदस्य तथा जिल्ला समन्वय समिति उप–प्रमुख सरिता दाहालका अनुसार नदीको छेवैछेउ बन्न लागेको करिडोरबाट ठूला गाडी सञ्चालन गर्ने सहमति भएको छ । गोकर्णेश्वर नगरपालिकाकी गोमा पाख्रिन दिनहुँ छोरीलाई स्कुल पुर्‍याउन र लिन जान्छिन् ।

नगरपालिका कार्यालय नजिकैको कोठाबाट लगभग ३ सय मिटर टाढा पर्ने स्कुल जाँदाको समयमा धेरै गाडी चलिरहेका हुन्छन् । ‘सडकमा ढुक्क भएर हिँड्न सकिन्न । गाडी र मान्छे दुवै हिँड्ने बाटो एउटै छ,’ पाख्रिनले भनिन्, ‘नानीलाई काखमा बोकेर हिँड्नुपर्छ । बाटोमा हिँड्न लाउँदा पछाडिको गाडीले हान्ने हो कि भन्ने पिर । पानी परेको बेला सडकछेउ हिँड्नै नहुने गरी हिलाम्मे हुन्छ ।’

राजधानीमा यस्ता सडक धेरै छन् । जहाँ चौडा सडक त छ, तर फुटपाथ छैन । सडक पक्की हुनेबित्तिकै सवारीचालक वेगमा सवारीसाधन चलाउने गर्छन्, ठूला साना गाडीको चाप बढ्छ । फुटपाथ नभइदिँदा मर्का पैदलयात्रीलाई पर्छ । बस्ती नजिकैदेखि मुख्य सहर जोड्न भित्री र स–साना सडक मात्र होइन मुख्य सडकसमेत पैदलयात्रीमैत्री छैनन् ।

सडक बनाउँदा बढ्दो जनसंख्या र सहरीकरणलाई ध्यानमा नराखी निर्माण गर्ने परिपाटीले समयक्रमसँगै सडक फराकिलो बनाउनुपर्ने र फुटपाथको आवश्यकता महसुस हुने जनप्रतिनिधि स्विकार्छन् । जिसस उपप्रमुख दाहाल भन्छिन्, ‘यहाँका अधिकांश सडक योजना बनाएर निर्माण गरिएकै होइनन् । पहिले खेत र फाँट भएका जग्गामा मान्छेले मनपरि घर बनाए, सडक कति राख्ने आफैंले निर्णय गरे ।’

अहिले बढ्दो जनसंख्या र सवारी चापले आवश्यकताअनुसार चौडाइ बढाउनुपर्ने देखिन्छ, तर कसैले आफ्नो जग्गा सडकमा जाओस् भन्ने चाहँदैन । सरकारले सडक ठूलो र फुटपाथयुक्त बनाउन चाहे पनि व्यक्तिगत जग्गाको मुआब्जा दिन सक्दैन । ‘नरेफाँटतिरका सडक २०–२५ फिटसम्मका छन् । मान्छे हिँड्न फुटपाथ छुट्यायो भने सडक झनै साँघुरो हुन्छ,’ उपप्रमुख दाहालले भनिन्, ‘पैदयात्रीलाई गाह्रो त छ तर फुटपाथ राख्न सकिन्न । वरपरका जग्गाधनी नै मान्दैनन् ।’

तारकेश्वर नगरपालिका नेपालटारदेखि साङ्ला बिहानी चोकसम्म १ करोड ७२ लाख रुपैयाँ लागतमा सडक निर्माण कार्य भइरहेको छ । साढे ४ किमिभन्दा केही बढी सडकको लगभग ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । केही भागमा कंक्रिट र केहीमा पिच हुने नगरपालिकाले जनाएको छ । योजना अधिकृत कञ्चन भट्टले ८ मिटर चौडाइको उक्त सडकमा उपत्यका विकास प्राधिकरणले चिह्न लगाइदिएअनुसार फुटपाथ, ढल र सडक निकालिएको बताए । ‘सडक साँघुरो नै हो । तर, फराकिलो बनाउन मुआब्जाको झन्झट हुन्छ, हामीसँग बजेट छैन,’ भट्टले पर्याप्त चौडाइको फुटपाथ नहुनुबारे भने ।

तर, भित्री सडकमा मात्र होइन, काठमाडौं महानरपालिकाभित्रका मुख्य सडकमै पनि पैदलयात्रीलाई सास्ती छ । नक्साल वरपर यसका उदाहरण धेरै छन् । त्यहीँ नेपाल टेलिकमको फुटपाथमा दुई जना सहजै आउजाउन गर्न सक्दैनन् । त्यस्तो साँघुरो फुटपाथमा प्रतीक्षालय पनि बनाइएको छ । स्वयम्भूबाट छाउनी जाने बाटोको फुटपाथ ठाउँठाउँमा ‘गायब’ हुन्छ । फुटपाथमा हिँड्दाहिँड्दै अचानक सडकमा पुगिन्छ र सीधा हिँडै गए केही पर पुगेपछि फेरि फुटपाथ भेटिन्छ ।

चाबहिल साँखु सडकखण्डलाई २२ मिटर चौडा बनाई दुवैतिर २/२ मिटर फुटपाथ बनाउने योजना छ । छेउछाउका घर भत्काउने क्रम जारी छ । तर, ती घर भत्केपछि सडक पिच र फुटपाथ छुट्याउन लगाइएको चिह्न हेर्दा कति ठाउँमा फुटपाथ एक मिटर पनि छैनन् । कतै आधा मिटर कतै डेढ मिटर त कतै ठिक्कको चौडाइ छ । सडक र फुटपाथ बनाउन छुट्याइएको स्थानले पिच गरेपछि फुटपाथ निकै साँघुरो हुने निश्चित छ ।

कुपन्डोलबाट केही माथि नबिल बैंक जाँदा फुटपाथका लागि केही हिस्सा छुट्याइएको छ । तर, ढलको स्ल्याबमा कहिले गोडा फसेर लडिने हो ठेगान हुन्न । फुटपाथ धरापझैं लाग्छ ।मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशक शिवहरि सापकोटा फुटपाथ मापदण्डअनुसार नभएको स्विकार्छन् । पर्याप्त चौडाइ भए पनि फुटपाथमै रूख र पोल गाडीएको उनले बताए ।
काठमाडौं उपत्यकामा अधिकांश सडक ‘धूलो नउडोस्’ भन्ने उद्देश्यले कालोपत्रे गरिएको बताउँदै उनले भने, ‘कति चौडाइको सडक बनाउने र त्यसका लागि जग्गा खाली गराउने, क्षतिपूर्ति दिने काम उपत्यका विकास प्राधिकरणको हो । उहाँहरूले जति खाली गराउनुहुन्छ, त्यही आधारमा हामीले पिच गर्ने हो ।’

उपत्यका विकास प्राधिकरणमा सडकसीमा विवाद लामो समयदेखि छ । सडक विस्तारका आयोजनाका लगभग सबैजसो क्षेत्रमा स्थानीय रुष्ट छन् । ‘अवैधानिक’ तरिकाले आफूहरूको निजी जग्गामा बनेको घरमा डोजर लगाएको भन्दै सर्वोच्च अदालतसम्म पुगेका छन् । लगत्तै सर्वोच्चले स्टे अर्डर जारी गरिदिएकाले काम रोक्नुपरेको सडक विभागको भनाइ छ ।

‘तत्कालका लागि स्टे अर्डर दिए पनि यस्ता विकासका योजनामा अदालतले जे निर्णय छ सक्दो चाँडो सुनाइदिए हुन्थ्यो,’ विभागका एक अधिकारीले भने, ‘वर्षौंसम्म यसरी पूर्णपाठ नदिँदा योजना अडेका छन् ।’ जहाँ पनि सडक विस्तार गर्न खोज्दा स्थानीयको मुआब्जा विवाद नै मुख्य अवरोध भएको उनले बताए । यस आर्थिक वर्षमा उपत्यकामा लाजिम्पाट, महाराजगन्ज, रातोपुल, त्रिपुरेश्वरजस्ता क्षेत्रमा कालोपत्रे गरिएको उनले बताए ।

चक्रपथभित्रका लगभग सबैजसो सडक पिच भइसकेको जानकारी दिँदै उनले चैतदेखि नै सुरु भएको मनसुनले सडक निर्माणमा अवरोध गरेको बताए । दोस्रो समस्या महानगरपालिका र विद्युत् प्राधिकरणको बिजुलीको खम्बा हो । सडक विभागकै अधिकारीका अनुसार ‘हामीले सडक नपुर्‍याएसम्म बिजुलीको खम्बा नै गाडिन्न । अहिले भने विद्युत् प्राधिकरण सडक विस्तारका क्रममा पोल हटाउन आनाकानी गर्ने’ गुनासो गर्छन् । अर्कोतर्फ विद्युत् प्राधिकरणको भनाइअनुसार उपत्यका विकास प्राधिकरणले सडकसीमा निर्धारण नगरिदिएकाले ‘पोल हटाइदिए पनि फेरि गाड्नेचाहिँ कहाँ ।’

उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले आफूहरूले सडकसीमाबारे मात्र चासो राख्ने बताउँछ । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद न्यौपानेले सडकमा फुटपाथबारे मापदण्डभन्दा व्यवहारमा फरक भएको बताए । हाल ६ मिटर सडकमा फुटपाथ नहुने, ८ मा एकातिर र ११ मिटरमा दुईतिर फुटपाथ देखिन्छन् । फुटपाथ नहुनुबारे न्यौपाने भन्छन्, ‘२०४५ सालमा कायम भएका सडकलाई हामीले बल्ल २०६९ सालदेखि निर्माण र विस्तार गर्दै छौं । अहिलेको जनसंख्याका हिसाबले ती सडक पनि साँघुरो नै हुन् ।’ उनले नयाँ सहर निर्माण हुन लागेको बताउँदै तीनमा दीर्घकालीन सोचका साथ सडक बनाइने बताए ।

सडक विभाग मध्माञ्चल क्षेत्रीय निर्देशनालय प्रमुख शिवहरि सापकोटा सडक ३ भागमा विभाजित भएको भन्दै त्यसैअनुसार फुटपाथको चौडाइ पनि निर्धारण हुने बताउँछन् । ८ मिटर सडकमा ६ मिटर पिच र दुईतिर १र१ मिटर फुटपाथ हुन्छ भने १४ मिटर चौडाइदेखिको सडकमा दुईतिर २/२ मिटर फुटपाथ हुन्छ । ८ मिटरसम्मको सडक महानगरपालिकाले हेर्छ । तर, फुटपाथको चौडाइ ‘आइडियल केस’ मा मात्र भेटिन्छ । नत्र अधिकांशमा फुटपाथ साँघुरो रहेको र गाडी गुड्ने स्थान बढी होस् भनी फुटपाथ कम चौडाइको बनाइएको उनी बताउँछन् ।

डिभिजन सडक कार्यालय २ का प्रमुख देवकुमार तामाङका अनुसार नेपाल सहरी सडक मापदण्डले फुटपाथ पैदलयात्रीको चापलाई ध्यानमा राखी बनाइनुपर्ने भनेको छ । ‘सडकका दुईतिर प्रतिघण्टा ५ सय जना आउने जाने गरे डेढ मिटर फुटपाथ बनाउनुपर्छ । त्यसैगरी २५ सयदेखि ३५ सय जना भए तीन मिटर बनाउनुपर्ने हुन्छ,’ तामाङले भने । उनले बजेट अभावले सडक छेउका घर नभत्काउने र गाडी गुडाउन पर्याप्त स्थान बनाउँदा राजधानीका धेरै स्थानमा फुटपाथ सानो हुने बताए ।
सडकको उचाइ बढ्दै
महानगरपालिकाका धेरै स्थानमा सडकको उचाइ बढेसँगै घर भासिएको देखिन्छ । अन्य मौसममा खास फरक नपरे पनि वर्षातमा जब सडकको भेल भुइँतलामा पस्छ तब गाह्रो हुन्छ । सडकसँगै घर हुनु अभिशापझैं साबित हुन्छ जब वर्षात आउँछ । तर, गाह्रो सर्वसाधारणलाई मात्र हुन्न, ढलको मर्मत–सम्भार र सरसफाइ गर्ने कर्मचारीलाई पनि हुन्छ । मुख्य सडकमा नै ढलको ढकनी पिचकै साइजमा आइसकेको छ भने केही स्थानमा त पूरै ढाकिइसकेको छ । ढकनी खोल्नुपर्दा वरपरका स्ल्याबसहितको पिच उप्काउनुपर्ने हुन्छ ।

सडकमा पटकपटक पिच गरिँदा सडकको उचाइ प्रत्येकपल्ट डेढदेखि दुई इन्जसम्म बढ्छ । नेपालमा सवारीसाधनको चाप र प्रकार, वातावरण, सडक बनाउँदा प्रयोग भएका कच्चा पदार्थका आधारमा सडकमा नयाँ पिच गर्ने गरिन्छ । प्राय ४–५ वर्षमा सडकमा पिच गर्ने गरिएको छ । सडकको उचाइ बर्सेनि बढ्नुभन्दा ठूलो आवश्यकता सडक नपुगेको स्थानमा सडक पुर्‍याउनुभएकाले त्यस विषयलाई महत्त्व दिनु जरुरी नभएको सापकोटा ठान्छन् । ‘विदेशमा पिच उप्काएर ‘रिसाइकल’ गर्ने गरिन्छ । त्यसबाट फेरि केही सडक निर्माणका सामग्री निस्कन्छन्,’ सापकोटाले भने, ‘तर त्यो महँगो यन्त्र ल्याउनुभन्दा सडक नभएका थुप्रै स्थानमा सडक पुर्‍याउन लगानी गर्नु आवश्यक छ ।’आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);