व्यस्त सडक दिउँसै पिच, काठमाडौंमा बढ्यो जाम | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

व्यस्त सडक दिउँसै पिच, काठमाडौंमा बढ्यो जाम

baudhha

काठमाडौं, ८ भदौ । बौद्ध जोरपाटी सडकले यस वर्ष निकै चर्चा पायो । बर्खा लागेसँगै आहाल बनेको सडकका बेहाल तस्बिरले सामाजिक सञ्जालका भित्ता मात्रै रंगिएनन्, राष्ट्रिय सञ्चारमाध्यममा हेडलाइन समाचार बन्यो । चार वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका स्थानीयले विभिन्न प्रतीकात्मक विरोध गरे । तैपनि जनताको पीडाले सरकारलाई घोचेन ।

तर, केही दिनयता सरकारलाई छटपटी भयो । रातदिन गरेर भए पनि बौद्ध–जोरपाटी सडक टिलिक्क पार्नैपर्ने भयो । चार वर्षदेखि सुस्त सरकार एकाएक जाग्यो । दुई हप्तामै सडक पिच गरिदिने अवस्थामा पुग्यो । अहिले स्थानीय जनता सरकारको काम देखेर चकित छन् । ‘बौद्ध–जोरपाटी सडक पिच सक्न १२ भदौसम्म लाग्दैन,’ दुई साताअघि मात्र उक्त सडक १२ भदौभित्र निर्माण सक्न निर्देशन दिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भन्छन्, ‘भोलि नै गएर हेर्नुस्, त्यो सडकमा धुलो र हिलो पाउनुहुन्न ।’

हो, सरकार अहिले काठमाडौं रंग्याउन व्यस्त छ । बौद्ध–जोरपाटी सडक मात्रै होइन, आजकाल काठमाडौंका मुख्य सडकमा खाल्डा देखिनु हुन्न, सडक विभागले टाल्न निर्देशन दिइहाल्छ । काममा पहिलेजस्तो ढिलासुस्ती पनि हुन्न, दिउँसै गाडी जाम गराएर भए नि पिच भइहाल्छ । कारण हो, बिमस्टेक शिखर सम्मेलन । १४ र १५ भदौमा हुने बिमस्टेकमा भाग लिन सदस्यराष्ट्रका प्रतिनिधि १२ भदौबाटै काठमाडौं आउन थाल्नेछन् । त्यसैले काठमाडौं रंग्याउन सरकारलाई चटारो छ ।

गुणस्तरमा छैन ध्यान
८ मिटरभन्दा ठूला सडक मर्मतको काम सडक विभागले गरिरहेको छ । तीमध्ये पनि बिमस्टेकका पाहुनाको आवागमन हुने माइतीघर–तिनकुने, थापाथली–त्रिपुरेश्वर–कलंकी, चक्रपथ, रत्नपार्कवरिपरि, सिनामंगल–डिल्लीबजार, जमल–लैनचौर, बालुवाटार (राष्ट्र बैंक)–नक्साल हुँदै डिल्लीबजारलगायत सबैजसो सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागले गरिरहेको छ । चाबहिल–जोरपाटी, चक्रपथ–महाराजगन्ज खण्ड भने मेलम्ची खानेपानी आयोजनाले मर्मत गरिरहेको छ । तर, हतारमा गरिएको सडक मर्मत गुणस्तरीय भने छैन ।

यतिसम्म कि दिउँसै अघिअघि पिच हुन्छ, उत्तिखेरै पछिपछि गाडी गुड्छन् । खाल्डाखुल्डीमाथि पिच र त्यसमाथि रोडमार्किङ हुँदा नहुँदै सवारीसाधन गुडिसक्छन् । यात्रु हिँडिसक्छन् । यसले न पिच बलियो रहन्छ, न रोडमार्क दिगो हुन्छ । ‘रातमा आकाशको बादल देखिँदैन, कतिवेला पानी पर्छ थाहै हुँदैन । हिजो मात्रै पनि वर्षाका कारण खेर जान लागेको झन्डै १० टिप अस्फाल्ट संयोगले बच्यो,’ सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटा भन्छन् ।

मर्मत भइरहेका सडक

– माइतीघर–तिनकुने

 – थापाथली–त्रिपुरेश्वर–कलंकी

– सिनामंगल–डिल्लीबजार

– जमल–लैनचौर

– रत्नपार्कवरिपरि

-बालुवाटार (राष्ट्र बैंक) नक्साल हुँदै डिल्लीबजार

-कलंकी–एकान्तकुना–कोटेश्वरबाहेकको रिङरोडको बाँकी १७ किलोमिटर खण्ड

– चाबहिल–जोरपाटी र चक्रपथ–महाराजगञ्ज खण्ड (मेलम्ची खानेपानी आयोजना)

सडक विभागको दाबी नियमित कार्यक्रमअनुसार नै मर्मत
अहिले काठमाडौं उपत्यकाभित्र बिमस्टेक सम्मेलनलक्षित सडक मर्मत भइरहेको छ । तर, आफ्नो नियमित वार्षिक कार्यक्रमभित्रै रहेर यो काम गरेको सडक विभाग बताउँछ । ‘चाडबाडपूर्व, हिउँदमा र वर्षापूर्व गरी तीनपटक विभागले आवधिक रूपमा २५ वर्षअघिदेखि सडक मर्मत गर्दै आएको छ,’ सापकोटा भन्छन् ‘यसपटक चाडबाडअघि गरिने मर्मत बिमस्टेक सम्मेलन पनि परेकाले करिब २० दिनअघिबाट सुरु भएको मात्र हो ।’ सडक मर्मतका लागि छुट्टै बजेट नलिएको उनले बताए । यद्यपि, काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एक–एक गरी चारवटा सडक डिभिजन कार्यालयमार्फत भइरहेको सडक मर्मतका लागि सडकबोर्डबाट आउने कुल दुई करोड रुपैयाँ खर्च हुन सक्ने उनले बताए ।

झुन्डिएका तार र हरियाली व्यवस्थापन टेलिकमलाई
सडकका दुई किनारमा झुन्डिएका र चुँडिएका तारले सहरको सुन्दरता बिगारेको छ । बिमस्टेक राष्ट्रका पाहुनालाई सफा देखाउन उनीहरूको मुख्य आवागमन हुने रुटका सडकका दायाँबायाँ बिजुलीका पोलमा झुन्डिएका तार व्यवस्थित गर्ने जिम्मा नेपाल टेलिकमलाई दिइएको छ । टेलिफोन, इन्टरनेट र केबल टेलिभिजनका तारहरू व्यवस्थित गर्ने जिम्मा रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । त्यस्तै, माइतीघरदेखि तिनकुनेसम्म र तिकुनेदेखि एयरपोर्टसम्म हरियाली व्यवस्थापन गर्ने जिम्मा पनि टेलिकमलाई नै दिइएको बताइन् । ‘बिजुलीका पोलमा नेपाल टेलिकमको टेलिफोनको तारको हिस्सा २० प्रतिशत मात्र छ,’ प्रवक्ता वैद्यले भनिन्, ‘अन्य निजी सेवाप्रदायकको ८० प्रतिशत तार छ, उनीहरूकै समन्वयमा व्यवस्थापन गरिन्छ ।’

१४ र १५ भदौमा हुँदै छ बिमस्टेक सम्मेलन
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन १४ र १५ भदौमा काठमाडौंमा हुँदै छ । तेस्रो सम्मेलनबाट नेपालले बिमस्टेकको अध्यक्षता ग्रहण गरेको थियो । सम्मेलनमा बिमस्टेकका सदस्य राष्ट्रहरू नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका राष्ट्र तथा सरकार प्रमुख र सरकरी अधिकारीलगायतको सहभागिता रहनेछ । सदस्यराष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा सरकारी कर्मचारी गरी करिब सयजनाको सहभागिता रहनेछ ।

सम्मेलनमा भाग लिन १२ भदौदेखि सदस्यराष्ट्रका विदेशमन्त्रीहरूको आवागमन सुरु हुने तथा १२ र १३ गते बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रत्येक ४ वर्षमा हुने सम्मेलनमा एउटा सदस्यराष्ट्रले सम्मेलन गर्ने पालो २८ वर्षमा एकपटक आउँछ ।

करिब ७० स्वागतद्वार, झाँकी र मौलिकता प्रदर्शन
मन्त्री रघुवीर महासेठको संयोजकत्वमा रहेको भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समितिअन्तर्गत ३ वटा उपसमिति छन् । गेट सजावट उपसमितिले पाहुनाहरूको आवागमन हुने उपत्यकाका मुख्य स्थान तथा चोकहरूमा कुल ७० वटा स्वागतद्वार निर्माण गर्ने मन्त्री महासेठले बताए । त्यस्तै, सरसफाइ र भौतिक पूर्वाधार उपसमितिले समेत आ–आफ्ना जिम्मेवारीका काम १२ भदौअगावै पूरा गर्नेछन् ।

मन्त्री महासेठ नेतृत्वको समितिले पाहुनाहरूका स्वागतका लागि नेपाली संस्कृति झल्काउने विभिन्न झाँकीलगायतका कार्यक्रमको संयोजन गर्नेछ । नेपाल उद्योग वाणिज्य संघ तथा विभिन्न विषयगत संघसंस्थाहरूको सहयोगमा स्वागतद्वार निर्माण तथा व्यवस्थापन गरिनेछ । ‘बिमस्टेक तयारीमा विभिन्न क्षेत्रको सहयोग लिएर सकेसम्म सरकारको खर्च कम गर्ने योजना छ,’ मन्त्री महासेठले भने । ६ वटा स्वागतद्वार बनाउने जिम्मा महानगरलाई दिइएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);