तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य

school student

काठमाडौं, ८ भदौ । देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ । आधारभूत तह (कक्षा १–८) सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ मा विद्यालयमा शिक्षक दर्बन्दी नै छैन ।

असमान छ शिक्षक विद्यार्थी अनुपात
बिभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाले विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा यपत्यकामा ४० रहनुपर्ने उल्लेख गरेको छ । हिमाली जिल्लामध्ये प्राविमा सबैभन्दा न्युनतम मनाङ र अधिकतम कालिकोटमा छ । सो तहमा मनाङको शिक्षक विद्यार्थी अनुपात ३.७ र कालिकोटमा ४९.७ छ ।

पहाडी जिल्लाहरुमा अनुपात कम पर्वतमा ११.९ र उपत्यकामा भक्तपुरमा १३.९ छ । तराईमा शिक्षक विद्यार्थी अनुपात झापामा २९.७ र अधिकतम सर्लाहिमा ७६.५ छ । माध्यमिक तहमा शिक्षक विद्यार्थी अनुपात सबैभन्दा कम मनाङमा ५.९ र सबैभन्दा बढि कैलालीमा ८३.३ छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकहरुलाई पार्टीका नेता र शिक्षक संगठनका नेताहरुले चलाउन नदिएको बताए । शिक्षक बढी भएका ठाउँमाबाट निकालेर अर्को ठाउँमा लैजान नदिएकाले समस्या भएको उनको भनाई छ । दरबन्दी नभए पनि राम्रा शिक्षक भएको ठाउँमा गुणस्तर राम्रो भएको बताए । शिक्षक दरबन्दी भएमा अध्यापनमा सहज हुने उनले बताए ।

स्थानीय तहभित्रै ब्यापक असमानता
एउटै जिल्लाका स्थानीय तहभित्रका विद्यालयमा पनि विद्यार्थी शिक्षक अनुपात निकै असमान पाइएको छ । कार्यदलका संयोजक तथा पुर्वसचिव महाश्रम शर्माका अनुसार प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपातमा कपिलबस्तुको जिल्ला औषत ६४ छ, तर सो जिल्लाको बाणगंगा नगरपालिकामा २५ र बिजयनगर गाउँपालिकामा १२६ छ । कैलाली जिल्लाको प्रावि तहमा शिक्षक विद्यार्थी अनुपात ५१ छ तर सोही जिल्लाको बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकामा ७८ र कैलारीमा ३१ मात्र छ । प्राथमिक तहमा विद्यार्थी शिक्षक अनुपात १७ रहेको सल्यान जिल्लामा बनगाड कुपिण्डे नगरपालिकामा ८७ छ ।

विद्यार्थी शिक्षक अनुपात कुन देशमा कति
नेपाल ३२
भारत ४०
बंगलादेश ४३
पाकिस्तान ४१
श्रीलंका २४
चीन १७
दक्षिण कोरिया २१
इन्डोनेसिया १६
थाइल्याण्ड १६

सुझाव संकलन गर्दै कार्यदल
शिक्षक दर्बन्दी पुनर्वितरणका लागि कार्यदलले सरोकार पक्षबाट सुझाव संकलन गरिरहेको छ । केन्द्रदेखि प्रदेशमा समेत सुझाव संकलन गरेको छ । कार्यदलले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा र प्रदेश ४ को पोखरामा अन्तक्रिर्या सम्पन्न गरेको छ ।
महाश्रम शर्मा, संयोजक, शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदल 
विद्यालय खोल्न अनुमति दिएर शिक्षक दरबन्दी नदिँदा विद्यार्थीको शिक्षण सिकाइलाई धेरै असर पर्छ । शिक्षण सिकाइ अनुदान दिएको छ, तर त्यो व्यवस्थाले मात्र राम्रो हुन सकेको छैन । शिक्षकले आफ्नो निरन्तरताको महसुस गरेमा गुणस्तरको पक्षमा पनि ध्यान पुग्थ्यो । देशभरको शिक्षकको तथ्यांक हेर्दा कतै धेरै शिक्षक, कतै खाली छ ।

यो धेरै असन्तुलन भयो । कसैलाई बढी न्याय र कसैलाई अन्याय गर्नु हुँदैन ।

यही समस्या समाधान गर्न सरकारले दरबन्दी पुनर्वितरण सुझाब कार्यदल बनाएको हो । दरबन्दी पुनर्वितरण सजिलो काम होइन, जटिल समस्या भएकाले समाधान गर्न समय लागेको हो । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);