स्थानीय करको विरोधमा सडक प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्थानीय करको विरोधमा सडक प्रदर्शन

birod railly

वीरगन्ज, १४ साउन । देश संघीय संरचनामा गएपछि अहिले तीन तहको सरकार सञ्चालनमा छ ।
तीन तहको निर्वाचन सम्पन्न भएर संघीयता कार्यान्वयनमा आएपछि सरकारले देशको राजनीतिक अस्थिरता समाप्त भएको र अब आर्थिक विकासको लागि अगाडि बढ्नुपर्छ भनिरहँदा झण्डै तीन वर्षपछि मधेस आन्दोलनको झल्को दिदै आइतबार वीरगन्जमा विरोध र्यालीसहित प्रदर्शन भएको छ ।

वीरगन्ज महानगरपालिकाले वृद्धि गरेको अत्यधिक करको विरोधमा कालो ब्यानरमा सेतो अक्षरले लेखेर वीरगन्जका उद्योगी व्यवसायीहरूले सडकमा प्रदर्शन गर्दा मधेस आन्दोलनकै झल्को दिएको थियो । महानगरपालिकाले स्थानीय सरकारको हैसियतमा लगाएको करको दर अत्याधिक भएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार बिहान विरोध र्याली निकाल्दै आधा घण्टा बजार पनि बन्द गराएका थिए ।

वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा निकालिएको विरोध र्यालीमा विभिन्न व्यावसायिक संघ संस्थाहरू मात्रै नभइ राजनीतिक दलका नेताहरू समेत सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेतासहितको र्याली वीरगन्जको घण्टाघर चोकबाट सुरु भइ नगरको विभिन्न क्षेत्र परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापनपत्र बुझाए । वीरगन्ज महानगरपालिका कार्यालय र मालपोत कार्यालय दुबै निकायले कायम गरेको एउटै क्षेत्रको जग्गाको मूल्यमा असमान अन्तर रहेको वीरगन्ज उद्योग वाणिज्य संघको भनाइ छ ।

मालपोत कार्यालयले १ करोड ८० लाख मूल्यांकन गरेको जग्गाको वीरगञ्ज महानगरपालिका कार्यालयले जनताबाट अत्यधिक कर असुल गर्ने अभिप्रायले वृद्धि गरि ६, ७ र ८ करोड मूल्यांकन तोकेको उद्योग वाणिज्य संघको दावी छ । व्यवसायीहरूका अनुसार विगतका आर्थिक वर्षमा व्यवसाय करको अधिकतम सीमा १० हजार रहेको थियो भने चालू आर्थिक वर्षको लागि सो करको सीमा २ लाख तोकेको छ ।

होटल व्यवसायमा करको अधिकतम सीमा ५० हजार रहेकोमा हाल महानगरपालिकाले १ लाख २५ हजार तोकिएको छ । विगतमा स्वास्थ्यसम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरेको छ ।
उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदूषण एवं सडक सुधार शुल्कको नाममा मालवाहक सवारी साधन प्रवेशमा भन्सार बिन्दुमा नै असुल गर्ने गरी अति महँगो कर एवं औद्योगिक उत्पादनका वस्तुहरू जस्तै सिमेन्ट, फलामे छड आदिमा समेत कर लगाइएपछि विरोध सुरु भएको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले करको दरमा पुनरावलोकन नगरिएमा अझ सशक्त आन्दोलनमा जाने समेत चेतावनी दिए । उद्योगी व्यपारीहरूको ज्ञापनपत्र बुझ्दै मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विपषयमा वार्ता गर्न तयार रहेको भन्दै उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गरे । उनले पहिले आन्दोलन गर्ने र त्यसपछि वार्तामा बस्ने बानी सुधार गर्न आग्रह गर्दै स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार रहेको बताए ।

उद्योग वाणिज्य संघले उठाएको केही मागहरू जायज रहेको र केही कुरा गलत पनि रहेकोले ती गलत कुरा वार्तामार्फत नै सुधार गर्नुपर्ने बताए । वीरगन्ज महानगरपालिकामा ज्ञापनपत्र दिन गएका उद्योगी व्यवसायीहरूलाई धन्यवाद दिदै मेयर सरावगीले वार्ता टोली बनाएर वार्तामा बस्न आग्रह पनि गरेका छन् ।

“उद्योग वाणिज्य संघलाई धन्यवाद दिन चाहान्छु, वार्ता टोली आओस्, स्थानीय सरकारको निर्णय हो प्रक्रियागत कुराहरू पनि केही छन् , यसलाई निदान गर्नुछ भने वार्तामा आउन आग्रह गर्छु, आन्दोलन गरेर जनतालाई दुःख दिनु छ भने मेरो भन्नु केही छैन,” उनले भने । महानगरपालिकाले सामान्य करहरू बाहेक अन्य करमा वृद्धि नगरिएको दावी गरेको छ । वीरगन्ज महानगरपालकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले २० वर्षसम्म एउटै दरमा कर तथा शुल्क तिरिरहेका करदाताहरूलाई अहिले समय सापेक्ष करहरू समायोजन गर्दा विरोध आएको बताए ।

उनले भने, “जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूसँग विकासका अपेक्षाहरू पनि जनताले लिएका हुन्छन् त्यसको लागि आवश्यक आर्थिक व्यावस्थापनका लागि पनि केही करहरूमा समायोजना गरिएको बाहेक बजारमा हल्ला भए अनुसारको करको दरमा वृद्धि भएको छैन ।” प्रमुख प्रशासकीय अधिकृत डा। भुसालले २० वर्षसम्म एउटै अवस्थामा वीरगन्ज रहेकोले यहाँको समृद्धिका लागि यथार्थ परक बनाउँदा कर वृद्धि भएको जस्तो देखियो । जग्गाको सम्पत्ति करमा विभिन्न स्थानमा रहेको जग्गाहरूको तथ्यांक संकलन गरेर कर निर्धारण गर्दा करको दर वृद्धि भएको उनको भनाइ छ ।

स्थानीय तहमा विकासको अपेक्षा बढेको छ । स्थानीय स्रोतको परिचालन पनि गर्नुपरेकोले पनि महानगरले कर निर्धारण गर्दा वृद्धि भएको डा.भुसालको तर्क छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);