अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा सीमास्थलमा विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अखिल क्रान्तिकारी र अनेरास्ववियुद्वारा सीमास्थलमा विरोध

पर्सा, ७ माघ । पर्साको वीरगन्ज महानगरपालिका–१ मा भारतीय पक्षले नेपाली भूमि मिचेको विरोधमा आइतबार अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रूपमा सीमास्थलमा विरोध जनाएका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियु अध्यक्ष नविना लामाको नेतृत्वमा काठमाडौंबाट आएको टोलीले सीमास्थल अवलोकन गर्नुका साथै भारतीय मिचाहा प्रवृत्तिको विरोध गरेको हो । टोलीले स्थानीयसँग छलफल गर्नुका साथै सीमाको अवलोकनपछि स्तम्भमै उभिएर पत्रकार सम्मेलन गरेको थियो । दुवै विद्यार्थी संगठनको तर्फबाट संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा भारतले नेपाली भूमि मिचेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा सुगौली सन्धिताका नदीलाई सिमाना मानिएको हवाला दिएर तयार गरिएको स्ट्रिप म्याप नै गलत रहेको जनाउँदै गम्भीर राष्ट्रघात भएको ठहर गरिएको छ । राज्यको उपल्लो स्तरबाट वैधानिकता नपाउँदै हतारमा नयाँ स्तम्भ कार्यान्वयनमा लैजानु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी नेताहरूको टोलीले नापी विभागबाट आएका निर्देशक अनिल मरासिनीलाई समेत यस विषयमा ध्यानाकर्षण गराएको छ ।

नेपाल–भारत संयुक्त सीमा नापी टोलीले केही दिनदेखि वीरगन्ज–१, बजार छपकैयामा गरेको नापीमा नेपाली पक्षको करिब ३० बिघा जमिन भारततर्फ परेपछि चौतर्फी विरोध भइरहेको छ । सीमामा रहेका ३९२ र ३९३ नम्बरका जंगे पिल्लरअन्तर्गत निर्माण गरिएका २९ वटा सहायक पिल्लरमध्ये १२ वटा पिल्लर स्थानीयले हकभोग गरिराखेको लालपुर्जासमेत भएको जमिनमा परेपछि नापीमा त्रुटि रहेको भन्दै विरोध भइरहेको छ ।

नयाँ नापीलाई सदर गरेमा बजार छपकैयाका नेपालीका घरसमेत भारतमा पर्नेछन् । स्थानीय रवीन्द्र महतो कोइरी, बद्री साह कानु, बाँके विहारी साह, गम्भीरा साह, जगत साह र मनोज साह कानुलगायतको लालपुर्जासहितको जमिन नयाँ नापीअनुसार भारततीर परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);