टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो

टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिँदा धुवाँले निसास्सिएर एक जनाको मृत्यु भएको छ । तीव्र हावाका कारण आगो बस्तीतर्फ सोझिएपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार अक्सु जिल्लाका एक बासिन्दाको डढेलोको बाक्लो धुवाँका कारण हृदयाघात भएर ज्यान गएको हो । अक्सुका मेयर इसा यिल्दिरिमले ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
सोमबार साँझ अक्सुको वनक्षेत्रबाट सल्किएको डढेलो हुरीबतासका कारण छिमेकी केपेज जिल्लासम्म फैलिएको थियो । आगो नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले दुवै जिल्लाका जोखिमयुक्त बस्तीबाट नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
डढेलो नियन्त्रणमा लिन मंगलबार बिहानैदेखि ठूलो संख्यामा हवाई र स्थलगत टोली परिचालन गरिएको छ । आगो निभाउन ५ वटा विशेष विमान, १० भन्दा बढी हेलिकप्टर, ११० दमकलसहित ६ सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् ।
आगो मानवबस्तीमा पस्न नदिन सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि रातभर खटिएको स्थानीय टेलिभिजन ‘एनटिभी’ले जनाएको छ । जोखिम बढेपछि अन्टाल्यालाई छिमेकी प्रान्त इस्पार्टासँग जोड्ने मुख्य राजमार्गसमेत अस्थायी रूपमा बन्द गरिएको छ।
सरकारी समाचार संस्था अनादोलुका अनुसार आगलागीका कारण प्रभावित क्षेत्रका २ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।
अन्टाल्या सहर विश्व जलवायु सम्मेलनको तयारीमा जुटिरहेको छ । विश्वभरका राष्ट्रप्रमुख र जलवायु विज्ञहरू भेला भएर पृथ्वीको बढ्दो तापक्रमबारे मन्थन गर्ने ३१ औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) आगामी नोभेम्बरमा यही सहरमा आयोजना हुँदैछ । फैलिरहेको डढेलोले कोप–३१ का कार्यक्रममा अशर पर्न सक्ने देखिन्छ ।

Leave a Reply