काठमाडौं, ३० असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसदहरुलाई देश र जनताको हितमा समर्पित हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले संविधानले महिलाहरुलाई विशेष अधिकारको व्यवस्था गरेको उल्लेख गर्दै त्यसै अनुसारको व्यवहार महिला सांसदहरुबाट हुने विश्वास व्यक्त गरे ।
अखिल नेपाल महिला संघले पार्टीका प्रनिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार मर्यादित र संयमित ढंगले पार्टीका महिला सांसदहरु अघि बढ्ने पार्टीको अपेक्षा रहेको बताए ।
प्रधानमन्त्री ओलीले सांसदहरुले झुट नबोल्ने परिकल्पना गरेकाले नै उनीहरुलाई माननीयको सम्मान प्रदान गरिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आन्दोलनकी धरोहर योगमाया न्यौपानेको स्मरणमा आयुर्वेद अस्पताल स्थापना गर्ने योजना रहेको बताइन् ।




