इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

दक्षिण लेबनानको नबातियेह शहरमा इजरायली हवाई आक्रमणका कारण ठूलो भौतिक क्षति भएको छ । इजरायलले युद्धविरामको घोषणा गरेको भोलिपल्ट आइतबार स्थानीय बासिन्दाहरूले आफ्ना क्षतिग्रस्त घर र व्यवसायहरूको निरीक्षण गरेका छन् भने उद्धार टोलीहरूले भग्नावशेषमा खोजी र पुनःप्राप्ति कार्यलाई निरन्तरता दिएका छन् । शहरबाट प्राप्त दृश्यहरूमा लेबनानको केन्द्रीय बैंक (सेन्ट्रल बैंक अफ लेबनान) को नबातियेह शाखाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिएको छ । सडकहरूमा भग्नावशेष छरिएका छन् भने स्काभेटर र सफाइ कर्मचारीहरू सडक सफा गर्न परिचालन गरिएका छन् । सुरक्षा व्यवस्था चुस्त राख्न लेबनानी सेनाले विभिन्न क्षेत्रमा सैन्य सवारी साधनसहित गस्ती बढाएको छ ।
लेबनानी नागरिक रक्षा दलले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नबातियेह क्षेत्रमा व्यापक खोज, उद्धार र चिकित्सा अपरेसन सञ्चालन गरिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषबाट ६ जनाको शव निकालेका छन् भने ८ जना घाइतेलाई उपचारका लागि अस्पताल पु¥याएका छन् । टोलीले विभिन्न स्थानमा लागेको आगो निभाउनुका साथै बमबारीका कारण अवरुद्ध भएका सडकहरू समेत खुलाएको छ ।
लेबनानका अर्थमन्त्री यासिन जाबेरले सरकारी संस्थामाथि भएको यस आक्रमणको कडा निन्दा गर्नुभएको छ। उहाँले इजरायली आक्रमणले केन्द्रिय बैंकको शाखासहित थुप्रै महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको बताउनु भयो । मन्त्री जाबेरकाअनुसार उक्त बैंक शाखा यस क्षेत्रको वित्तीय जीवनरेखाका रूपमा सञ्चालित थियो, जसले अत्यावश्यक राहत र सहायता कार्यमा सहयोग पु¥याउँदै आएको थियो ।
केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तिमा उक्त भवनलाई योजनाबद्ध रूपमा निशाना बनाइएको उल्लेख छ । आक्रमणको समयमा भवन खाली रहेकाले कर्मचारी वा सुरक्षाकर्मीमाथि कुनै मानवीय क्षति नभए पनि भौतिक सम्पतीमा गम्भीर क्षति पुगेको बैंकले जनाएको छ। लेबनानी अधिकारीहरूले यस घटनाको निष्पक्ष छानबिन र भविष्यमा यस्ता आक्रमण रोक्न माग गर्दै औपचारिक उजुरी दर्ता गरेका छन् ।
यसैबीच, लेबनानी सेनाले टायर जिल्लाको क्लैलेहस्थित सैन्य चौकीमा भएको इजरायली आक्रमणमा घाइते भएका कर्पोरल समिर अल–अब्दको उपचारका क्रममा मृत्यु भएको घोषणा गरेको छ ।
ठूलो विनाशका बाबजुद नबातियेहमा जनजीवन बिस्तारै सामान्य लयमा फर्कने प्रयास गरिरहेको छ । स्थानीय बासिन्दाहरू आफ्ना व्यवसाय सफा गर्न जुटेका छन् भने सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको छ । यद्यपि, इजरायली सेनाप्रति अविश्वास व्यक्त गर्दै स्थानीयहरूले अझै पनि सतर्कता अपनाइरहेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार युद्धविरामको घोषणा गरेसँगै दक्षिण लेबनानमा अहिले सावधानीपूर्ण शान्ति छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply