रोकिएन टिपर दादागिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रोकिएन टिपर दादागिरी

tipper atanka

काठमाडौं, २७ असार । राजधानीको जडीबुटीमा जेब्राक्रसअगाडि टिपरले ठक्कर दिँदा मंगलबार मोटरसाइकलमा सवार भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ । तीव्र गतिमा भक्तपुरबाट कोटेश्वर आउँदै गरेको टिपरले ब्रेक लगाउन नभ्याउँदै मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीको बताए ।

बा८५प ७१६ नम्बरको मोटरसाइकल हाँकिरहेका भक्तपुरकै अमन ढुंगेल पनि सुवेदीसँगै सडकमा बजारिए । ढुंगेलको खुट्टा भाँचिएको छ भने सुवेदीको घटनास्थलमै मृत्यु भएको हो । बा४ख ८७२५ नम्बरको टिपरले लापरबाही ढंगले अन्य सवारीसाधनलाई पेल्ने गरी हाँकेको प्रत्यक्षदर्शी विशाल कर्णले बताए । उनले भने, ‘मोटरसाइकल जेब्राक्रस नजिकै पुग्दै थियो, एक्कासि टिपरले ठक्कर दियो । हेर्दाहेर्दै पछाडि बस्ने यात्रुलाई किचेर टिपर अगाडि पुगेर रोकियो ।’

कर्णले टिपरको दादागिरी दिनदिनै चलिरहँदा पनि नियामक निकाय कानमा तेल हालेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

टिपर दादागिरीको यो एउटा प्रतिनिधि घटना मात्रै हो यो । जेठमा मात्रै टिपर ठक्करबाट उपत्यकाभित्रै चार जनाको मृत्यु भइसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसअघि गत जेठ ३० गते जडीबुटी नजिकै ना४ख ३५८८ नम्बरको टिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रौतहट घर भएर काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भएको थियो ।

जेठ नौ गते भक्तपुर नलिनचोकमा बा३ख ६६७४ टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा लोकन्थली बस्ने हरिभक्त कटवाल, सविता घिमिरे र अवीन्द्र घिमिरेको मृत्यु भएको थियो ।

महाशाखाका अनुसार २०७४ साउनदेखि जेठसम्ममा मात्रै उपत्यकामा टिपरको ठक्करबाट ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);