रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने

Ronaldo

रोनाल्डोका लागि सय मिलियन युरो तिर्न युभेन्टस तयार, रियलले चाँडै प्रतिक्रिया दिने

एजेन्सी, २१ असार । स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालिएन सिरी ए क्लब युभेन्टस जाने सम्भावना बढेको छ । उनलाई अनुबन्ध गर्न युभेन्टसले विशेष चासो देखाएको छ ।

रोनाल्डोलाई क्लब भित्र्याउन युभेन्टसले सय मिलियन युरोज प्रस्ताव गरेको छ । युभेन्टसले रोनाल्डोका लागि प्रस्ताव गरेको रकम उसले अहिलेसम्म कुनै पनि खेलाडीलाई तिरेको सबैभन्दा धेरै हुनेछ ।

उसले सन् २०१६ मा अर्जेन्टिनाका गोन्जालो हेगुइनलाई अनुबन्धन गर्दा ९० मिलियन युरो तिरेको थियो । रोनाल्डो सन् २००९ मा तात्कालिन समयमा विश्वकै कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आएका हुन् ।

रोनाल्डोका लागि युभेन्टसबाट आएको प्रस्तावका बारेमा रियल मड्रिडले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रियल मड्रिडका लागि ४ सय ५१ गोल गरेका २३ वर्षीय पोर्चुगिज रोनाल्डो सो क्लबका सर्वाधिक गोलकर्ता हुन् । तर, ढल्किदो उमेर र पछिल्ला प्रदर्शनका कारण रियलले टिममा नयाँ र युवा खेलाडी भित्र्याउन चाहेको बताइन्छ ।

गएको सिजन ला लिगामा रियल मड्रिडले बार्सिलोनाभन्दा १७ अंक पछि रहेर लिग टुंग्याएको थियो । यसले पनि रोनाल्डो प्रदर्शनप्रति प्रश्न उब्जाएको थियो । त्यसो त रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको पनि उनको सम्बन्ध त्यति राम्रो नरहेको बताइन्छ ।

रोनाल्डोले गएको मे मा रियल मड्रिडबाट पाँचौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । किएभमा भएको खेलमा लिभरपुललाई हराएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट बिदा लिए ।

उनको ठाउँमा स्पेनका पूर्वप्रशिक्षक जुलिएन लोपेतेगुइ आएका छन् । पाँच पटकका बोलोन डी’ओर विजेता रोनाल्डोको भविष्यका बारेमा केही वर्षयता विभिन्न खालका चर्चा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);