काठमाडौं, २० असार । नेपालीहरुको खानपानमा भिटामिन्स र मिनरल्सको मात्रामा कमी रहेको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको एक अध्ययनमा नेपालीहरुको खानपानमा भिटामिन्स र मिनरल्सको मात्रामा कमी रहेको उल्लेख गरिएको हो ।
बुधबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता केपी लम्सालले नेपालीहरुको खानामा पोषण तत्वको मात्रामा कमी रहेको पाइएको बताए । झापा, ललितपुर र रसुवाका समुदायमा गएर गरिएको अनुसन्धानमा दिनमा ८ पटक खाना खानुपर्नेमा नेपालीहरुले बढिमा ४ पटक मात्रै खाने गरेको पाइएको छ ।
नेपालीहरुको पोषण स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सरकारले खाद्य पोषणबारे अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।
उनले जनस्वास्थ्यका लागि आवश्यक पोषणको मापदण्ड तोक्न सरकारले आवश्यक अनुसन्धानको कामलाई अघि बढाएको बताए ।
विभागले समुदायको पोषण स्वास्थ्यमा सुधार ल्याउन चित्रसहितको सन्देश देशव्यापी रुपमा संचालन गर्न लागिएको स्पष्ट पारे ।