एजेन्सी, १२ असार । मेक्सिकोमा आम निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारकै श्रृंखलाबद्ध हत्या भएपछि सर्वसाधारण आतंकित भएका छन् । पछिल्लो पटक मेयरका उम्मेदवारको हत्या भएपछि प्रहरीकै संलग्नता रहेको आशंकामा २७ जना प्रहरी अधिकारी पक्राउ परेका छन् ।
मेक्सिकोमा आगामी साता आम निर्वाचन हुँदै छ । जसबाट राष्ट्रपति, सांसद र मेयर चयन हुनेछन् । तर, चुनाव अगाडी नै आतंक मच्चिएको छ । हालसम्म एक सयजनाभन्दा बढी नेताहरुको हत्या भएको बिबिसीले जनाएको छ । चुनाव प्रचारप्रसार जारी रहेको अवस्थामा उम्मेदवार र नेताहरुकै हत्या भएपछि सर्वसाधारण आतंकित भएका छन् । नेताहरुको श्रृंखलाबद्ध हत्या भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तैपनि उम्मेदवारहरु सुरक्षित नरहेको जनाइएको छ । मेक्सिकोको मिचोअकान राज्यस्थित आकाम्पो शहरमा मेयरका उम्मेद्वार ६४ वर्षीय फर्नाण्डो एन्जेल्स जुआरेजलाई अज्ञातसमुहले आफ्नै घर बाहीर गोली प्रहार गरी हत्या गरेपछि हल्लीखल्ली मच्चिएको छ।
मिचोअकान राज्यमा एन्जेल्स एक साताको अवधिमा मारिने तेस्रो नेता हुन् । एन्जेल्सको हत्यामा प्रहरीकै संलग्नता रहेको आशंकामा संघीय प्रहरीले त्यहाँका २७ जना प्रहरी अधिकारी र सार्वजनिक सुरक्षाका स्थानीय सचिवलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।
हत्याको आरोपमा ओकाम्पोका सुरक्षा सचिव आँस्कर गोन्जालेज गार्सियालाई संघीय प्रहरीले गिरफ्तार गर्न खोज्दा स्थानीय प्रहरी अधिकारीहरुले अबरोध गरेका थिए । सुरक्षा सचिव र स्थानीय प्रहरीमाथि संगठित अपराधिक समूहसँग सम्बन्ध रहेको आरोप पनि लगाइएको छ ।
हत्या गरिएका उम्मेद्वार एन्जेल्स एक सफल व्यवसायी सँंगसँगै राजनीतिमा चाख राख्ने व्यक्तिका रुपमा चर्चित हुनुहुन्थ्यो । यस अघि निर्दलीय उम्मेद्वार भइ चुनाव लड्ने मनस्थिति बनाउदाबनाउँदै एन्जेल्सले पछिल्लो समय मेक्सिकोको राजनीतिक दल डेमोक्रेट रेवाँल्यूशनको सदस्यता लिनुभएको थियो । स्थानीयले हत्याकाण्डसहित यस अघि भएका सय भन्दा बढी नेताको हत्यामा संलग्नलाई कार्बाही गर्न जोडदार माग गरेका छन् ।