फाइल तस्बिर
काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भोट हाल्न काठमाडौंमा विभिन्न पेसा व्यवसाय गरेर बसेकाहरू गाउँ फर्किन थालेका छन् । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन चल्न रोक लगाइसकेको ।
जस अनुसार अब गाउँ फर्किनेहरूका लागि अब चार दिनको समयमात्रै बाँकी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निर्वाचनमा करिब ७ देखि ८ लाखले काठमाडौँ छोड्ने अनुमान गरेको छ । पछिल्ला केही बाहिरिने क्रम सुरु भइसकेको र अहिले झनै बढेको छ ।
विशेषगरी मधेस प्रदेशमा होली पर्व नजिकिएको र निर्वाचनका कारण उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ । विगतमा राजनीतिक दलहरूले नै ठुलो सङ्ख्यामा गाडी रिजर्भ गर्ने र मतदाताको भाडा तिर्ने प्रचलन हुने गरेको भए पनि यस पटक त्यस्तो अवस्था कम देखिएको महासंघले बताएको छ ।





