नेपाल र चीनबीच विभिन्न १० विषयमा सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाल र चीनबीच विभिन्न १० विषयमा सम्झौता

-चिनियाँ कार्गो रेल काठमाडौं ल्याइने

-ओलीको सम्मानमा ग्रेट हल अफ पिपलमा गार्ड अफ अनर

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन नेपाल र चीनबिच बिभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषमा सम्झौता भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ पनि भएको छ ।

चीन भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओलीले बिहिबार बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर ग्रहण गरेर चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल र चिनियाँ पक्षबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा सम्झौता भयो ।

सम्झौतामा रेलमार्ग निर्माण लगायतका विषय समाबेस छन् । दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र चिनियाँ उप–विदेशमन्त्री कङ वान युले रेलवे र कार्गो ट्रान्सपोर्ट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माणसम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गरे । ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गरेका छन् ।

यस्तै, तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा पनि दुई देशबीच सझमदारी भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए ।

छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहिबार नै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री चाओ चितानसहित नेपालका लागि चिनियाँ राजदूत यु होङकोसमेत सहभागिता रहेको थियो ।

त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै त्यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचना सहितको सामग्री राखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);