सम्झौताले प्रम ओली रोमाञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सम्झौताले प्रम ओली रोमाञ्चित

oli see

काठमाडौं, ८ असार । असार ५ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चिनिया“ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछियाङलगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाटपछि नेपाल र चीनबीच विभिन्न १० विषयका सम्झौतामा हस्ताक्षर भएको छ ।

ओलीले बुधबार ग्रेट हल अफ दि पिपुल्समा राष्ट्रपति सीसँग २० मिनेट एकल वार्ता र प्रतिनिधिमण्डलसहित करिब १ घण्टा वार्ता गरेका थिए । बिहीबार उनले प्रधानमन्त्री ली र पिपुल्स नेसनल कांग्रेसका अध्यक्ष ली झाङ्सुसँग भेटवार्ता गरेका थिए । यी उच्चस्तरीय भेटवार्तापछि नेपाल र चीनबीच रेल, सडक, पुल, आर्थिक विकास, उर्जा आदि विभिन्न विषयमा महत्वपूर्ण १० सम्झौता भएका हुन् । दुई पक्षबीच ४ वटा विषयमा ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।
ल्हासा–केरुङ हुँदै काठमाडौं रेलमार्ग बन्ने सहमति यो भ्रमणपछि अझ एक कदम अघि बढेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उनका चिनिया“ समकक्षी ली सियोपिङबीच रेलमार्ग निर्माण गर्ने विषयमा ‘कर्पोरेसन इन रेलवे प्रोजेक्ट’को समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन थालिसकिएको यो प्रोजेक्टको डीपीआरसहित निर्माण अनुमानित ६/७ वर्षमा सक्ने लक्ष्य लिइएको छ ।

महासेठ र सियोपिङबीच ‘युटिलाइजेसन अफ तिब्तेतियन हाइवे फर कार्गो ट्रान्सपोर्ट’ प्रोटोकलमा पनि हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि चीनको स्वाशासित क्षेत्र तिब्बतको राजमार्ग नेपालले कार्गो यातायातका लागि प्रयोग गर्न सक्ने भएको छ । उर्जामन्त्री वर्षमान पुन र चीनको राष्ट्रिय उर्जा प्रशासनका अधिकारी नुर बाइकेलीबीच ‘इनर्जी कोअपरेसन’ सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको उर्जा, जलस्रोत तथा सिंचाइमा लगानी र विकास गर्ने विषय उक्त सम्झौतापत्रमा उल्लेख छ ।

यसैगरी तातोपानी र रसुवागढीमा मितेरी पुल निर्माण गर्न चीनले सहयोग गर्ने सम्झौता भएको छ, जसमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ झेङ्यूबीच हस्ताक्षर भएको छ । यसैगरी दुई देशबीच सहयोग र सहकार्यका कार्यक्रम र परियोजना सहजीकरण गर्न परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ ।

सुख्खा बन्दरगाह, विद्युत् लाइन विस्तार, राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमता र लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशवीच आर्थिक, प्राविधिक विकास, मानव स्रोतमा सहकार्य गर्ने सम्झौताहरूमा पनि हस्ताक्षर भएको छ ।

उच्चस्तरीय राजनीतिक भेटघाटपछि नेपाल र चीनबीचको सम्बन्धले थप उचाइ प्राप्त गरेको चिनिया“ परराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ झेङ्यूले बताए । ‘नेपालका प्रधानमन्त्री ओलीको राष्ट्रपति सी, प्रधानमन्त्री लीसँगको वार्ता र भेटघाटपछि दुई देशबीच गम्भीर र महत्वपूर्ण समझदारी बनेको छ’, सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन भ्रमण फलदायी भएको छ ।’
उच्चस्तरीय भेटवार्तामा दुई देशका उच्चस्तरीय नेताले सहयोग र सद्भाव राखेर बढ्ने वचनबद्धता दोहोर्याएका छन् । चीनले नेपालमा संविधान निर्माण हुँदै तीन तहको चुनाव सकेर बलियो सरकार गठन भएको, दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको र राष्ट्रिय आवश्यकतालाई हेरेर विकास र समृद्धिको बाटो रोजेकोमा खुसी व्यक्त गरेको छ । उपमन्त्री कोङ झेङ्यूले भने, ‘नेपालले राजनीतिक रूपान्तरणपछि जुन स्वतन्त्र सामाजिक व्यवस्था रोजेको छ, त्यसको चीन सम्मान गर्दछ ।’

उनले नेपालले एक चीन नीतिमा देखाएको दृढता र निरन्तरताको पनि उच्च राजनीतिक नेतृत्वले प्रशंसा गरेको बताए । उनले भने, ‘तिब्बत र ताइवान चीनको घरेलु मामिला भएको नेपालले स्वीकार्दै एक चीन नीति अघि बढाउने, आफ्नो देशमा चीनविरोधी गतिविधि गर्न नदिने जुन अठोट र प्रयास गरेको छ, त्यो प्रशंसायोग्य छ ।’

छलफलमा दुवै देशबीच उच्चस्तरीय राजनीतिक भेटघाट बढाउने र नियमित सम्पर्कमा बस्ने सहमति भएको छ । यही मेसोमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी, प्रधानमन्त्री लीलगायतका उच्च राजनीतिक अधिकारीहरूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चिनिया“ पक्षले समय मिलाएर चाँडै नेपाल भ्रमण गर्न चाहेको पनि उपमन्त्री कोङ झेङ्यूले बताए । तर राष्ट्रपति सी वा प्रधानमन्त्री ली अथवा अरु कुन उच्चस्तरीय भ्रमण हो, त्यसबारे केही बताइएको छैन ।

उनले चीनले दुई देशबीच हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटीको फ्रेमवर्कभित्र रहेर इलेक्ट्रिक रेलमार्ग, वैज्ञानिक ढंगले सडकहरूको स्तरोन्नति गर्ने र हवाई उडानहरूको संख्या थप्ने सहमति बनेको पनि बताए । आगामी नोभेम्बरमा हुने पहिलो अन्तर्राष्ट्रिय इम्पोर्ट सांघाई मेलामा पनि चीनले नेपाललाई आफ्ना उत्पादनहरूसहित आउन आमन्त्रण गरेको छ, जहाँ आफ्ना उत्पादनको बजार विस्तार गर्न आग्रह गरिएको छ ।

बुधबार राष्ट्रपति सीले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा जडिबुटीलगायतका नेपाली उत्पादनलाई बजार विस्तारको लागि सहयोग गर्ने बताएका थिए । भेटमा राजनीतिक, व्यापारिक, सांस्कृतिक, पर्यटकीय, स्वास्थ्य, शिक्षा, मिडिया, थिंकट्यांक लगायतका क्षेत्रमा एक्सचेन्ज कार्यक्रम बढाउने सहमति भएको पनि कोङ झेङ्यूले बताए । उनले भने, ‘यूएनजस्ता अन्तर्राष्ट्रिय मञ्च, सांघाई कोअपरेसन लगायतका क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा एकै ठाउँमा उभिने सहमति पनि भएको छ।’

प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाट र सम्झौता हस्ताक्षरपछि सरकारी प्रतिनिधिमण्डलसहित शुक्रबार चीनको स्वाशासित क्षेत्र ल्हासा जानेछन् । दुई दिन त्यहा“ बिताएपछि चीन भ्रमण सकाएर आइतबार उनी काठमाडौं फर्कनेछन् ।

नेपाली प्रतिनिधिमण्डल उत्साही

चीनको उच्चस्तरीय भेटघाट र भ्रमणपछि प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल उत्साही देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणसँगै दुई देशको सम्बन्ध विश्वसनीय भएको बताए । उनले भने, ‘महत्वपूर्ण भेटघाट र वार्ताहरूबाट दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ र विश्वसनीय भएको छ ।’
प्रधानमन्त्री ओलीको उत्साह उनको हाउभाउ र ‘बडी ल्याङ्वेज’मा झल्किन्थ्यो, जतिबेला उनी सम्झौताहरूमा हस्ताक्षर हुँदै गर्दा समकक्षी लीसँग उभिएका थिए । दुई प्रधानमन्त्रबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदा मन्द मुस्कानसहित कुराकानी पनि चलेको देखिन्थ्यो ।

यसअघि प्रधानमन्त्री ओली र लीको प्रतिनिधिमण्डलबीच एक घण्टाभन्दा लामो भेटवार्ता चलेको थियो । त्यसअघि चिनियाँ जनसेनाले ओलीलाई ‘गार्ड अफ अनर’ गरेको थियो । प्रधानमन्त्री ली र पिपुल्स नेसनल कांग्रेसका अध्यक्ष ली झाङ्सुसँगको भेटका क्रममा केहीबेर सञ्चारकर्मीलाई पनि प्रवेश दिइएको थियो, जहा“ नेताहरूबीच चलिरहेको संवादमा दुवै पक्षका नेताहरूले एक अर्काको प्रशंसा गरेको र भ्रमणले आपसी सम्बन्ध अझ प्रगाढ भएको बताइरहेका हुन्थे ।

भ्रमण र भेटघाटको सार खिच्दै चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री झेङ्यूले भने, ‘नेपालमा बलियो सरकार बनेको, समृद्ध नेपाल र सुखी नेपाली अभियान बढिरहेको सन्दर्भमा यो भ्रमणले दुई देशबीच अझ दरिलो सम्बन्ध स्थापित भएको छ ।’ आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);