मन्त्री पोखरेलले भेटे राष्ट्रकविलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्री पोखरेलले भेटे राष्ट्रकविलाई

madhav prasad ghimire

काठमाडौं, २५ जेठ । विज्ञान तथा प्रविधिमन्त्री गिरिराजजमणि पोखरेलले नयाँदिल्लीको मेदान्त अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

साउथ एसियन युनिभर्सिटीको तेस्रो दीक्षान्त समारोहका लागि बुधबार दिल्ली आएका मन्त्री पोखरेल राष्ट्रकवि घिमिरेलाई भेट्न बिहीबार दिउँसो अस्पताल पुगेका थिए । उनले उपचारमा संलग्न चिकित्सकसँग राष्ट्रकविको उपचार प्रक्रिया र स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । भेटपछि कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘कविज्यूको स्वास्थ्य सुधार भएको छ, उहाँले दुईचार दिन मात्र यहाँ बस्छु भन्नुभएको छ ।’ तर, यसपटक पूर्ण निको भएर मात्र घर फर्किन आफूले सल्लाह दिएको मन्त्री पोखरेलले बताए ।

११ दिन मेदान्तमै उपचार गरेर काठमाडौं फर्किएका राष्ट्रकवि घिमिरे पुन बिरामी परेपछि जेठ २१ मा नयाँदिल्ली ल्याइएको हो । सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि जेठ ९ मा उनलाई पहिलो पटक मेदान्तमा भर्ना गरिएको थियो । उपचारपछि काठमाडौं फिर्नासाथ निमोनियाँ र रक्तस्रावको समस्या दोहोरिएपछि उनलाई फेरि दिल्ली ल्याइएको हो ।

यसैबीच मन्त्री पोखरेलले मेदान्त अस्पतालका प्रबन्ध निर्देशक डा. नरेश त्रेहानसँग भेटेर अस्पतालमा नेपालीका लागि बेग्लै ‘नेपाल डेस्क’ खोल्न, उपचारका क्रममा आर्थिक संकट बेहोर्नुपर्ने अवस्थामा पुगेका नेपालीलाई विशेष छुट दिन र मेदान्त अस्पतालमा हुने उच्च प्रविधियुक्त उपचार प्रक्रियालाई भिडियो कन्फरेन्समार्फत् नेपालका मेडिकल कलेजसँग जोड्न आग्रह गरे । ‘डा. त्रेहानले प्रस्तावमा सहमति जनाउँदै चाँडो पहल गर्छु भन्नुभएको छ,’ पोखरेलले भने ।

‘गरिबी र पछौटेपन ठूलो शत्रु’
बिहीबारै साउथ एसियन युनिभर्सिटीको तेस्रो दीक्षान्त समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा मन्त्री पोखरेलले दक्षिण एसियाका लागि गरिबी र पछौटेपन सबैभन्दा ठूलो शत्रु भएको बताए । त्यसलाई परास्त गर्न दक्षिण एसियाली मुलुक र जनताबीचको साझेदारीबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

बुद्ध, नालन्दा तथा तक्षशिलाका कारण शिक्षा र ज्ञानको भूमिका रूपमा इतिहासमै दक्षिण एसियाको नाम रहेको र साउथ एसियन युनिभर्सिटीले त्यसलाई निरन्तरता दिएको उनले बताए । ‘भौतिक सुविधामुखी मात्र नभएर पूरै समाजलाई सही दिशामा डोर्‍याउन तपाईंहरूले हासिल गरेको शिक्षालाई सदुपयोग गर्नुस्’ दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने । समारोहमा मन्त्री पोखरेलले विभिन्न संकायका गरी १७६ जना विद्यार्थीलाई दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);