काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम, कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले निजी आवास पुनर्निर्माणको काममा ढिलाई गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा आयोजित ‘निजी आवास पुनर्निर्माणसम्बन्धि समस्या पहिचान र समाधान’ विषयक काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले निजी आवास पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अनुसारको काम हुन नसकेको स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठी लगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यका भित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत गराए ।
उनले जनप्रतिनिधिहरुलाई निजी आवास पुनर्निर्माणको काममा सक्रीयतापूर्वक सहभागी हुन आग्रह गरे । अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको स्पष्ट पारे ।
एक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्बको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनर्निर्माणका लागि ऋण स्वरुप लिइएको रकम दुरुपयोग नगर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिए ।
अर्थमन्त्री खतिवडाले विकास, सुशासन र विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।




