हेटौंडा, १४ वैशाख । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पपछिको पुनर्निर्माणको काममा गति दिन सरकारसँग माग गरेका छन् ।
मुख्यमन्त्री पौडेलले अहिले पनि पीडितले बास नपाएको भन्दै पुनर्निर्माणको काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।
शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रदेश ३ को राजधानी हेटौंडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूकम्प गएको ३ वर्षबित्दा समेत पीडितले आवास नपाएको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारले अव छिटोभन्दा छिटो आवास निर्माणको काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
यो वर्ष पनि सबै पीडितले वर्षा सम्ममा आफ्नै निवासमा बस्ने अवस्था नआउनु दुःखद भएको मुख्यमन्त्री पौडेलको भनाई छ । उनले पुनर्निर्माणको काममा ढिलाई हुनुको कारण आफूले बुझ्न नसकेको बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अवको एक वर्ष भित्र निजी आवास निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै आएको छ ।




