काठमाडौं, १७ जेठ । उत्तर कोरियाका नेता किम जोङ उनका दाहिने हात मानिने किम योङ चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटवार्ता गरेका छन् ।
आफ्ना नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियाका उपप्रमुख चोलले न्युयोर्क पुगेर अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटवार्ता गरेका हुन् । चोल २० वर्षयता अमेरिका भ्रमण गर्ने पहिलो वरिष्ठ उत्तर कोरियाली छन् ।
चोलले अमेरिकी विदेशमन्त्री पोम्पिओसँग किम–ट्रम्प प्रस्तावित वार्तामा केन्द्रीत रहेर छलफल गरेको बताइएको छ । ट्रम्पले आफूले लेखेको पत्रको जवाफस्वरुप चोल न्युयोर्क आएकामा खुशी व्यक्त गरेका छन् । ट्रम्पले केही दिन पहिले उत्तर कोरियाली नेता किमका नाममा पत्र लेखेर १२ जुन तय गरिएको वार्ता रद्द भएको घोषणा गरी यस विषयमा आफूसँग कुरा गर्न आग्रह गरेका थिए । ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेपनि पछिल्लोपटक दुवै देशले शिखर वार्ताको तयारी अगाडि बढाएका छन् ।




