ट्रम्प-किम वार्ता रद्द हुनुमा को जिम्मेवार? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

ट्रम्प-किम वार्ता रद्द हुनुमा को जिम्मेवार?

trump n kim

एजेन्सी , १२ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर वार्ता रद्द गरेको जानकारी गराए। शिखर वार्ता रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो।

उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो । मे १६ पछि उत्तर कोरियाले अमेरिकी धारणालाई लिएर धेरै पटक असन्तोष व्यक्त गरेको थियो ।

यसबीचमा उत्तर कोरियाले दक्षिण कोरियासँगको अन्तर-कोरियाली सैनिक वार्ता रद्द गर्‍यो । अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले असन्तुष्टि जनायो।

त्यसबाहेक उत्तर कोरियाले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको भनाइप्रति पनि विमति जनायो । जसले उत्तर कोरियाको हकमा पनि लिबियालाई जस्तै परमाणु मुक्त बनाउने उपाय अवलम्बन गर्नुपर्ने आफ्नो सुझाव रहेको बताएका थिए।

त्यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए- उत्तर कोरियाले आफ्ना पारमाणविक अस्त्र नष्ट नगरे किमको नियति लिबियाका तत्कालीन कर्णेल गद्दाफीको जस्तै हुनेछ । यसबीचमा अमेरिकी अधिकारीहरूले कडा अभिव्यक्ति दिए पनि उत्तर कोरियाले पूर्व निर्धारित योजना अनुसार नै पारमाणविक परीक्षणस्थल नष्ट गर्‍यो।

त्यसबाहेक दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले मे २३ मा अमेरिकाको भ्रमण गरे । त्यसक्रममा ट्रम्पले भनेका थिए- उत्तर कोरियाले केही शर्तहरू पूरा नगरे शिखर वार्ता स्थगित गरिने छ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दिएको एउटा अन्तर्वार्तापछि उत्तर कोरियाले उनलाई ‘अज्ञानी’ र ‘बेवकुफ’ भन्यो । अन्तर्वार्तामा पेन्सले राष्ट्रपति ट्रम्पसँग किमले खेलाँची गरे त्यो उनको ठूलो भुल हुने बताएका थिए।

उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले भने- उत्तर कोरियाले वार्ताका लागि अमेरिकासमक्ष न त अनुनय गर्नेछ न त अमेरिकालाई मनाउन चिन्ता नै लिनेछ।