३३ किलो सुन प्रकरण : रहस्यमय मोडमा अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

३३ किलो सुन प्रकरण : रहस्यमय मोडमा अनुसन्धान

33 kg sun gore

काठमाडौं, ९ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती मंगलबार पक्राउ परेका छन्। पक्राउ परेपछि दिएको प्रारम्भिक बयानमा गोरेले प्रहरीकै मिलेमतोमा विमानस्थलबाट निर्बाध सुन तस्करी गर्ने गरेको स्विकारेका छन्।

मंगलबार बिहान पाँच बजेर ३५ मिनेटमा काठमाडौं गौरीघाटबाट पक्राउ परेका गोरेबाट थप तस्कर र तिनका मतियारको नाम संकलन गरेको छानबिन समितिको दाबी छ। गोरे पक्राउबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका संयोजक एवं सहसचिव ईश्वरराज पौडेलले भने, ‘गोरे भारत(नेपाल सीमामा आउजाउ गर्ने र लुकिछिपी बस्दै गरेको सूचना हामीले पाएका थियौं। उनी काठमाडौं आएको सुराक पाएपछि मंगलबार बिहान पक्राउ गरेका हौं।’
पौडेलले सुन तस्करी, शाक्य हत्या, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित थाई एयरलाइन्सका लोडर सानु बमको शंकास्पद मृत्युसँगै संगठित अपराधका मुख्य अभियुक्त गोरे पक्राउ परेकाले घटनाको थप रहस्य बाहिर आउने बताए। उनले भने, ‘यो घटना जेरीजस्तै जेलिएको छ।
हामीले गोरेबाट सुन र सनम शाक्य हत्या प्रकरणमा थप तथ्यप्रमाण प्राप्त गरेका छौं। अभियुक्तबाहेकका अन्य सूचना समेत प्राप्त भएका छन्। अनुसन्धान अत्यन्त जटिल र गम्भीर प्रकृतिको छ।’

गोरेले आफू मुख्य तस्कर नभएर व्यवस्थापक भएको बयान समितिलाई दिएका छन्। उनले बयानमा केही बहालवाला र पूर्वप्रहरी अधिकृतसँगै नेताको नामसमेत पोलेका छन्। हाल प्रहरीले गोरेसहित ६५ जनाको संलग्नता खुलाइसकेको छ, जसमा ३३ जना अझै फरार छन्। शाक्य हत्यापछि उनको शव गायब पार्न गोरेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीलाई दुई करोड रूपैंयाको अफर गरेका थिए।

गोरे अदालतमा पेस

मुख्य अभियुक्त गोरेलाई मंगलबारै जिल्ला अदालत मोरङमा पेस गरिएको छ। काठमाडौंबाट दिउँसो यती एयरलाइन्सको जहाजमार्फत विराटनगर ल्याइएका उनलाई साँझ ५ बजे अदालतमा पेस गरिएको थियो।

विमानस्थलबाट सीधै जिल्ला प्रहरी कार्यालय लगेपछि अदालतमा उपस्थित गराइएको हो। उनलाई हेर्न अदालतमा परिसरमा ठूलो संख्यामा सर्वसाधारणसमेत उपस्थित थिए।

गोरेलाई करिब १० मिनेट राखेर फिर्ता गरिएको थियो। गोरेसँग बुधबारबाट बयान लिइने अदालतका निमित्त से्रस्तेदार एवं तहसिलदार केदारप्रसाद गौतमले बताए। गोरे अदालतमा ल्याइनासाथ सनमका आफन्तले ‘ज्यानमारालाई फाँसी दे’ भन्दै नाराबाजी गरेका थिए।

३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा उर्लाबारी(१ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाई यातना दिएर गोरे समूहले फागुन १८ गते सनमको हत्या गरेको थियो। सुन लुकाएको आरोप सनम, उर्लाबारीकै मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, विमानस्थलका कर्मचारी तक्ले भनिने पुण्यप्रसाद लामालगायतलाई लगाइएको थियो।

गोरेलाई २०७३ साल पुस २१ गते यूएईबाट तस्करी गरेर नेपाल ल्याइएको ३३ किलोग्राम सुन पक्राउ काण्डमा मुख्य अभियुक्तका रूपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मोस्ट वान्टेडको सूचीमा राखेको थियो। हराएको तस्करीको सुन खोज्ने क्रममा सनमको हत्या भएपछि भारत भागेको गोरेविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।

घटना रहस्यमय बनेपछि गृह मन्त्रालयका सहसचिव पौडेलको नेतृत्वमा सरकारी छानविन समिति गठन भएको थियो।

को हुन् गोरे

गोरे चर्चित पूर्वफुटबलर हुन्। उनी मोरङ ११ बाट खेल्थे। पछि भारतीय सेनामा भर्ती भए। तीन वर्ष काम गरे अनि दुबईको अबुधाबी पुगे। त्यहाँ प्रहरीमा जागिर खाए। पाँच वर्ष दुबई बसे। पछि सुन पठाउने र हुन्डी कारोबारमा लागे।

नेपाल फर्किएर गोरे दुबई, सिंगापुरबाट नेपालतर्फ सुन पठाउने धन्दा चलाउन थाले। एकाएक उनको सम्पत्ति अस्वाभाविक रूपमा बढेपछि गाउँलेले अवैध धन्दाको आशंका गरेका थिए।

उनका बाबु नेत्रप्रसाद अवकाशप्राप्त असई हुन्। मोस्ट वान्टेड हुँदाहुँदै पनि प्रहरीका उच्च अधिकारीसँग नियमित सम्पर्क भएको कुरा छानबिन समितिले पत्ता लगाएको छ। सनमको हत्या भएपछि शवको व्यवस्थापन गर्ने विषयमा पनि उनले प्रहरी अधिकारीलाई सम्पर्क गरी सल्लाह मागेको खुलेको छ। पक्राउ परेका निलम्बित एसपी विकासराज खनालले शव ल्याएर गाडी नै त्रिशूलीमा फालिदिनू भनेर सिकाएको फोन रेकर्डसमेत छानबिन समितिले फेला पारेको छ। अभियुक्तले शव धरान र इटहरीको बीचमा जंगलमा झाडीमा गाड्ने तयारी भएको समेत बयान दिएका छन्।

गोरे समूहले तीन वर्षमा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ। यो परिणामको सुन सन् २०१५ जुलाईदेखि तस्करी भएको हो।

प्रहरीलाई पैसा बुझाएकै हो गोरे

समितिसँगको बयानमा गोरेले विमानस्थलमा खटिएका प्रहरी कर्मचारीलाई पैसा बुझाएको स्वीकार गरेका छन्। उनले अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग पुरानो सम्बन्ध रहे पनि डीएसपी प्रजित केसीसँग फोनमा मात्रै कुरा भएको बताएका छन्।

समितिका एक सदस्यका अनुसार विमानस्थलका तत्कालीन डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई पैसा बुझाएको स्वीकार गरेका छन्।

पक्राउ परेका केही सहयोगी भएको र त्यसमध्ये भुजुङ मुख्य पार्टनर रहेको गोरेले बताए। ‘डायरीमा मामा उल्लेख गरेका प्रहरीलाई आफूले चिन्ने र पैसा दिएको पनि उनले स्वीकार गरेका छन्’, समितिका एक सदस्यले अन्नपूर्णसँग भने, ‘अन्य प्रमाण जुटाउँदै छौं।’

समितिले गोरेको कोठाबाट बरामद भएको डायरीमा उल्लेख भएको अक्षर र गोरेको अक्षरलाई विधि विज्ञान प्रयोगशालामा लगेर जाँच गर्ने भएको छ। गोरेले समितिलाई बयानमा थप व्यक्तिको नाम खुलाउने बताएका छन्।

गोरेको बयान उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘म तस्कर होइन। तपाईंहरूलाई म तस्करको नाम दिन्छु, समात्न सक्नुहुन्छ।’ गोरेले पैसाले मात्रै सुन तस्करी सम्भव नभएको बताउँदै त्यसका लागि प्रहरी प्रशासन, राजनीतिक दल र सरकारमा रहेका उच्चपदस्थको समेत भूमिका रहने कुरा उल्लेख गरेका छन्।
आफूले दुबईबाट सुन झिकाए पनि भुजुङले उच्च तहको सेटिङ मिलाउने गरेको बयान उनले समितिलाई दिएका छन्। सनम शाक्यको शव व्यवस्थापन गर्न प्रहरीलाई आफैंले फोन गरेर दुई करोड रूपैयाँको अफर गरेको पनि उनले स्विकारेका छन्। ‘धेरै प्रहरीलाई पैसामा खेलाएको थिएँ’, बयानमा उनले भनेका छन्, ‘शाक्यको शव व्यवस्थापन पनि प्रहरीबाटै गराउने योजना थियो। तर पूरा भएन।’ गोरेको कोठाबाट बरामद डायरीमा प्रहरीलाई मात्रै दुई करोडभन्दा बढी रूपैयाँ बुझाएको फेला परेको थियो।
समिति संयोजक पौडेलले फरार एसएसपी श्याम खत्री पक्राउ परेपछि थप रहस्य बाहिरिने बताए। गोरेले भुजुङ, छिरिङ वाङ्गेल, मोहन कृष्ण अग्रवाल र भारतीय कारोबारीको सहयोगमा सुन तस्करीलाई पूर्णता दिएको बयानमा स्विकारेका छन्।

कसरी पक्राउ परे गोरे

गोरे अपराध महाशाखाको टोलीलाई छक्याउँदै भारतको दिल्ली पुगेका थिए। दिल्लीमा बसेर उनले आफ्ना समूहका अन्यलाई प्रहरी र अदालतका गतिविधिबारे सोधपुछ गरिरहेका थिए।

सानु वनका परिवारलाई विभिन्न माध्यमबाट सोधपुछ गरेर पनि गोरेले प्रहरी र न्यायालयका सूचना लिइरहेका थिए। अदालतमा विपक्षी वकिलका टेलिफोनलाई समेत समितिले सूक्ष्म रूपमा निगरानी गरिरहेको थियोे।

सात दिनअघि गोरे नयाँ दिल्लीमा लुकेर बसेको सूचना पाएपछि समितिले एक डीएसपीको नेतृत्वमा टोली दिल्ली पठाएको थियो। उक्त टोली दिल्ली पठाएकोबारे समितिका पनि सीमित सदस्य मात्रै जानकार थिए।

सोमबार दिल्लीको एक होटलमा बसेका गोरेलाई भारतीय प्रहरीकै सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले नियन्त्रण लिई सीधै जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको थियो। सोमबार अपराह्नदेखि राति अबेरसम्म गोरेसँग समितिले बयान लियो। बयान सकिएपछि मंगलबार बिहान साढे पाँच बजे गोरेलाई उनी बस्ने डेरा गौरीघाटमा पु¥याइयो। डेरा पुगेपछि पनि गोरेले आफ्नो ज्यान बचाइदिन प्रहरी टोलीलाई अनुनय गरेका थिए।

मुद्दा चलाउन आन्तरिक कानुनी प्रक्रियाका कारण दिल्लीबाट ल्याइएका गोरेलाई गौरीघाटबाट पक्राउ परेको मुचुल्का तयार गरिएको समितिकै एक सदस्यले बताए। गोरे नियन्त्रणमा लिँदा उनी धेरै हतास र छटपटाहट अवस्थामा रहेको जानकारी ती सदस्यले दिए।

उनले भने, ‘प्रहरीले समातेपछि उसले कुनै हस्तक्षेप गरेन। ज्यान जोगाइदिनुप¥यो, सबै बताइदिन्छु भने।’ गोरेले संयुक्त अरब इमिरेट्समा नजमल जनरल ट्रेनिङ कम्पनी खोलेर सुन नेपालतर्फ तस्करी गर्दै आएको ती सदस्यले बताए।

गोरेले प्रहरीलाई गिरफ्तारी दिनुअघि भिडियो खिचेर एउटा अनलाइनमा मिडियामा दिएका थिए, जुन मंगलबार मात्रै सार्वजनिक भएको छ। भिडियोमा गोरेले सबै सुन तस्करीमा आफ्नो मात्रै नाम आएको भन्दै अन्यको विवरण आउँदै जाने बताएका छन्। शाक्यको हत्या आफूले नचाहँदा नचाहँदै भएको समेत भिडियोमा उल्लेख गरेका छन्। प्रहरीले भिडियोसहितको मोबाइल पनि बरामद गरेको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);