काठमाडौँ ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भुमिका लिनुपर्ने बताउनुभएको छ ।पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ ? यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ ? भन्नेकुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनु भयो । भाषण गरेर फर्किने मात्रै नभइ कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्बन उत्सर्जन गरेर आजको सङ्कट र आगामी सङ्कटमा निश्चय नै ठूला राष्ट्रहरूको भुमिका रहेको भन्दै ती ठूला राष्ट्रहरूसँग नेपालले कुनै दुश्मनी, द्वन्द्व नभइ तथ्यमा आधारित भएर पृथ्वीको सङ्कट उपरको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपालले नै नेतृत्व गर्ने अग्रसरता गर्नुपर्ने जिकिर गर्नुभयो ।
यसमा कुटनीतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने बताउनु भयो । प्रधानमन्त्रीको सन्देशबाट नेपालले विशाल पृथ्वीको यो रक्षाका लागि एउटा सानो हिमवत्खण्डमा रहेको राष्ट्रले सिङ्गो संसारको नेतृत्व गर्नसक्छ भन्ने सन्देश पनि दिनुपर्ने जिकिर गर्नुभयो । महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने बताउनु भयो । उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र साहले दीर्घगामी रूपमा एउटा दूरदर्शी राजनीतिज्ञ बनेर सिङ्गो संसारको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट साझा रूपमा धारणा राख्नुपर्ने बताउनु भयो ।





