गोरेसहित ३ जनाको अबैध सम्पत्तिको अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गोरेसहित ३ जनाको अबैध सम्पत्तिको अनुसन्धान सुरु

gore

काठमाडौं, २९ जेठ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ ।

विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानवीनको क्रममा सफाईको मौका समेत दिने तयारी गरेको छ ।

अभियुक्तहरुलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाईको मौका दिइने पनि प्रवक्ता लामिछानेले जानकारी दिए ।

विभागले सम्पत्ति छानबिन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ । गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्वद्ध पक्ष सबैसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने प्रवक्ता लामिछानेले बताए ।

उनले अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने स्पष्ट पारे । विभागले सोमबार मोरङ कारागार र सुनसरीको झुम्का कारागारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो ।

पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन । २०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानवीन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरुलाई हाल केन्द्रिय कारगारमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);