सिरहाका जिल्लामा व्यवसायिक कृषि फस्टाउँदै | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

सिरहाका जिल्लामा व्यवसायिक कृषि फस्टाउँदै

siraha golbazar

सुरेन्द्रकुमार कामती
सिरहा, ६ जेठ
। खपत बढ्दै जानु, उत्पादन र निर्यात उल्लेखनीय रुपमा बढ्न नसक्दा मुलुकले ठूलो आकारको व्यापार घाटा बेहोरिरहेको छ । त्यसैले उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले विभिन्न योजना नल्याएको पनि होइन ।

यद्यपि, ती योजना प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा समस्या घटेको छैन । यस्तो अवस्थामा तराईका कतिपय जिल्लाका कृषक आफ्नै प्रयासमा अन्नबाली र तरकारीमा आत्मनिर्भर बन्ने प्रयासमा छन् । उक्त प्रयासले सार्थकता पनि पाउँदै गएको छ ।

सिरहा जिल्लामा पछिल्लो समय व्यवसायिक कृषि फस्टाउँदो छ । खासगरी तरकारी खेतीमा कृषकहरुले उल्लेखीय फड्को मारेका छन् । गोलबजारलाई हेरेर थाहा हुन्छ, सिरहा जिल्ला विस्तारै तरकारी उत्पादनको हवका रुपमा विकास हुँदैछ । पूर्वपश्चिम राजमार्गमा पर्ने गोलबजारमा अहिले तरकारी खरिद गर्न पूर्व बर्दिवासदेखि पूर्व सुनसरीदेखि व्यापारी आउने गरेका छन् ।

गोलबजारका व्यापारीले पहिला भारतबाट बढी तरकारी आयात गर्थे । तर, पछिल्लो समय जिल्लामै तरकारी उत्पादन बढेपछि व्यापारीहरु निकै कम तरकारी भारतबाट आयात गर्छन् । तरकारी खरिद विक्री गर्नकै लागि गोलबजारमा १ दर्जनभन्दा बढी ठूला कारोबारी सक्रिय छन्

मौसमी र वेमौसमी तरकारी पाउने भएकोले पनि गोलबजार तरकारीको हब बन्दै गएको हो । यहाँ सातामा दुई दिन लाग्ने हाटबजारमा ५ करोड वढीको कारबार हुने गरेको छ । यसरी बजार बढेको देखेर कृषकहरु पनि तरकारी उत्पादन गर्न उत्साहित बनेका छन् ।