सत्य नारायण मानन्धर
बुटवल, ११ फागुन । एकीकृत कृषि प्रणालीलाई अंगालेर रुपन्देहीमा एक किसान जिल्लाकै नमूना बनेका छन् । विद्यालयको ४६ रोपनी खाली जमिनलाई भाडामा लिएर व्यवसायिक पशुपालन तथा अर्गानिक तरकारी खेती गरी गैडहवाका नारदमुनी यादव जिल्लाकै नमूना बन्न पुगेका छन् । कृषि पेशाबाटै यादव परिवारले वार्षिक ३० देखि ४५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
रुपन्देहीको गैडहवा गाउँपालिका हसनापुरमा एक यादव परिवार अपवादका रुपमा देखा परेका छन् । गाउँपालिकाको हसनापुर माध्यमिक विद्यालयको ४६ विघा जग्गा भाडामा लिई ती यादव परिवार एकीकृत कृषि प्रणालीमार्फत जिल्लामा नमूना बनेका हुन् ।
नारदमुनी यादवको सिंगो परिवार अहिले आधुनिक कृषिको सपनालाई साकार पार्न लागिपरेका छन् । विद्यालयले उपयोग गर्न नसकेको खाली जग्गालाई विगत ६ बर्षदेखि भाडामा लिएर यादव परिवारले माछापालन, भैंसीपालन, बाख्रापालनका साथै अर्गानीक तरकारी उत्पादन गरी मनग्य आम्दानी गरिरहेका छन् ।
पाँच वर्ष अघि यादव परिवार मध्येका नारदमुनी यादवले आरम्भ एकीकृत कृषि फार्म दर्ता गरि व्यवासायीक रुपमा खेतिपाती गर्न सुरु गरेका थिए । बाबुले अंगालेको परम्परागत कृषिलाई आधुनिक बनाई ठूलो आकार दिन अहिले तीन भाई छोराहरु लागि परेका छन् ।
यादव परिवारका जेठा छोरा गर्जेश यादव चितवन रामपुरमा भेटेनरी पढीरहेका छन् भने माहिला छोरा दुर्गेश यादव दाङमा रहेको पृथु कृषि क्याम्पसमा कृषि विषय अध्ययन गर्दै छन् । बाबुहरुले गर्दै आएको परम्परागत कृषि प्रणालीलाई विस्तार गरी आधुनीकिकरण गर्ने दुर्गेश यादवको योजना रहेको छ ।
वार्षिक डेढ करोडको कारोबार हुने कृषि फार्मबाट वार्षिक ३० देखि ४५ लाखसम्म आम्दानी हुने गरेको छ । पाँच हेक्टर क्षेत्रफलमा माछापालन गरेका यादव परिवारको धेरै आम्दानी माछा पालनबाट नै भईरहेको छ ।
त्यस्तै फार्ममा ५६ वटा भैंसी र ५० वटा बाख्रा रहेका छन् । उनीहरुको आम्दानीको अर्को ठूलो स्रोत भनेको अर्गानिक तरकारी खेती हो । उनीहरुले फुलगोवी, काउली, धनियाँ, प्याज, खुर्सानी लगायतका तरकारीहरु उत्पादन गरिरहेका छन् ।
कृषिमा आधुनिकिकरण विस्तार गर्ने योजना बनाएका यादव परिवार भारतबाट आयातित सस्तो मुल्यका कृषि उपजहरुले बजार ओगट्नाले चिन्तित भएका छन् । आफुले गरेका उत्पादनहरु भन्दा सस्तो मूल्यमा भारतबाट सामान बजारमा आउँदा कृषिबाट बिस्थापित हुनु पर्ला कि भन्ने चिन्तामा अहिले यादव परिवार देखिन्छन् ।




