बदलियो प्रचार शैली | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बदलियो प्रचार शैली

keki n richa

काठमाडौँ, २५ बैशाख । अहिले फिल्म बनाएर मात्रै पुग्दैन, गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाइमा असर पार्छ । फिल्मको प्रचारका लागि र्‍याली, माइकिङ, पोस्टर–पम्प्लेटहरू त पहिलेदेखि नै थियो । तर अहिले शैली फेरिएको छ ।

अहिले फिल्म निर्माणको घोषणादेखि लिएर शुभमुहूर्त, ट्रेलर रिलिज, गीत रिलिज, प्रिमियर सो, फिल्म रिलिज लगायतमा भव्य कार्यक्रम आयोजना गरिन्छन् । केहीले भने फिल्म हेर्नेलाई विभिन्न उपहारको व्यवस्थासमेत मिलाएका हुन्छन् भने फिल्मका कलाकारहरूबीच प्रेमसम्बन्ध भएको गसिप पनि चलाइन्छ ।

हालै केकी अधिकारीको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज भयो । केकीले फिल्म प्रचारका लागि नयाँ–पुरानो सबै शैली अपनाइन् । उनले अपनाएको नयाँ शैलीको धेरैले राम्रो तारिफ पनि गरे । उनको टिम गाडीमा माइकिङदेखि पिज्जा बेच्दै हिँडेको देखियो भने कहिले कोहलपुरमा ट्राफिक व्यवस्थापन गर्दै देखियो । तर फिल्मले भने हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ कपी गरेको आलोचना खेप्नुपर्‍यो । ‘कोहलपुर एक्सप्रेस’ रिलिज भएकै दिन अर्को फिल्म ‘हयाप्पी डेज’ पनि आयो । यसको प्रचार शैली पनि भिन्नै थियो । फिल्मकी अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता बग्गीमा सवार भएर नगर परिक्रमा गरे ।

प्रचारको नयाँ शैली अपनाउनेमा कलाकार निर्देशक दीपाश्री निरौलाको टोली पनि पर्छ । दीपालाई फिल्म प्रचार गर्नु भनेको फिल्मको बारेमा दर्शकलाई जानकारी दिनु हो भन्ने लाग्छ । दीपाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ ले नेपाली फिल्म इन्डस्ट्रीमा कमाइको रेकर्ड नै राख्न सफल पनि भयो । उनीहरू टेलिभिजनमा ‘तीतो सत्य’ टेलिसिरियल गर्दादेखि नै मोफसलका दर्शकका प्यारा थिए । ‘हामी मोफसलमा पनि प्रचार गर्न पुग्यौं । मोफसलमा प्रचार गर्न पुग्ने हामी नै पहिलो हौं,’ उनले भनिन्, ‘यसले दर्शकसँग आत्मीय नाता पनि जोड्यो । यो शैली इफेक्टिभ भयो हाम्रो केसमा ।’ पहिले प्रेस मिट मात्रै हुने गरेकोमा पछिल्लो समय कलाकारहरू नै पुगेर रमाइलो कार्यक्रम गर्दै फिल्म हेर्न डाक्ने प्रवृत्ति बढेको उनले थपिन् । अहिले प्रचारप्रसारमा मात्रै २० लाखदेखि ३० लाख खर्च हुने उनले जनाइन् ।

दीपाको टोलीकै फिल्म ‘छ एकान छ’ रिलिजको क्रममा ‘सडकदेखि हलसम्म’ को प्रक्रियालाई तीव्रता दिइएको थियो । दर्शकलाई हलसम्म तान्न राजधानीका कोटेश्वर, नयाँ बानेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर र चाबहिलजस्ता मुख्य चोकचोकमा ६ जना ‘डमी’ खटिएका थिए । उनीहरूले प्रचार मात्रै गरेनन्, उनीहरूले ट्राफिक व्यवस्थापनमा समेत सहयोग गरेको दाबी गर्छिन् दीपा । नेपाली फिल्मलाई माया गर्ने दर्शकलाई फिल्मबारे जानकारी गराउन यो प्रक्रिया अपनाइएको दीपाले बताइन् ।

‘सबैले किन्न चाहने हीरा, सुनजस्तो बहुमूल्य चिजको त प्रचार गर्नपर्छ,’ उनले भनिन्, ‘हाम्रा लागि फिल्म नै बहुमूल्य हो, हामीले प्रचार गर्न के हुन्छ र ’ कुनै पनि उत्पादन गरिन्छ भने त्यसलाई बिकाउन प्रचार त गर्नुपर्छ भन्ने मान्यता दीपा राख्छिन् । दीपाका अनुसार पहिले रेडियो इन्टरभ्यु गरेर, र्‍याली निकालेर, हेर्न आउने दर्शकलाई रुमाल उपहार दिएर फिल्म हेर्न डाक्ने चलन थियो । उनले भनिन्, ‘यो त केही होइन, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ फिल्म चल्दा बद्री नाम गरेका दर्शकलाई टिकट नै फ्री थियो ।’

फिल्म प्रचारको नयाँ शैली अपनाउनेहरूको लिस्ट थुप्रै छ । ‘प्रेमगीत–२’ युनिटले नारायणी किनारमा भव्य कन्सर्ट गरेको थियो । साढे दुई घण्टा जति चलेको कन्सर्टमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्माता सन्तोष सेन झुमेका थिए । ‘म यस्तो गीत गाउँछु’ फिल्म युनिटले हात्तीको प्रयोग गरेको थियो । हात्तीको शरीरमा फिल्मको ब्यानर झुन्डयाएर नारायणगढ बजार परिक्रमा गराइएको थियो । अभिनेता पल शाह, सरोज खनाल र अभिनेत्री पूजा शर्मा हात्तीमाथि थिए । ‘ग्याङस्टार ब्लुज’ फिल्म युनिटले पनि नारायणी नदी किनारमा कन्सर्ट गरेको थियो ।

केहीअघि फिल्म ‘लिलीबिली’ ले मुलुकका विभिन्न सहरमा ‘रोड शो कन्सर्ट’ गर्‍यो । फिल्म ‘पलाँस’ ले पनि फिल्मको लिरिकल गीतका लागि ‘कभर सङ प्रतियोगिता’ आहवान गरेको थियो । कभर सङको अडियो र भिडियो ‘पलाँस’ को अफिसियल फेसबुक पेजमा पोस्ट गर्ने र त्यसमा एक लाइक बराबर एक अंक र प्रत्येक सेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने बताइएको थियो । विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने फिल्म टोलीले जनाएको थियो । फिल्म ‘रोमियो एन्ड मुना’ को रोमान्टिक गीत रिलिज कार्यक्रममा अभिनेता विनय श्रेष्ठ विकिनी पहिरनमा सजिएका दुई युवतीहरूसँगै हलमा प्रवेश गरेका थिए तर, यो शैली आलोचित बन्यो ।

यति मात्रै नभई फिल्म प्रदर्शनका बेलामा अभिनेता, अभिनेत्रीको सम्बन्धको झूटो हल्ला पनि फैलाउने गरिन्छ । जस्तो कि, छविराज ओझाको फिल्म ‘लज्जा’ र ‘किस्मत २’ प्रदर्शनका क्रममा अभिनेत्री शिल्पा पोखरेलसँग विवाह हुनेसम्मको हल्ला चलेको थियो । तर अहिले त्यो हल्ला सामसुम छ । शिल्पाले केही युटयुब च्यानलहरूमा विवाह नहुनेसमेत अन्तर्वार्ता दिएकी छन् । त्यस्तै रेखा थापाको पनि ‘हिम्मतवाली’ प्रदर्शनका क्रममा नायक सुदर्शन गौतमसँग प्रेमसम्बन्ध भएको हल्ला चलेको थियो । दुवैले एकअर्कालाई मन पराएको र किस गरेका तस्बिरहरू त्यति बेला भाइरल भएका थिए । अहिले यो विषय पनि सामसुम छ ।

अहिले विभिन्न अनलाइन मिडिया, सोसल साइटहरूमार्फत प्रचार गर्ने शैली फेरिएको गीतकार निर्देशक यादव खरेलले बताए । उनको समयमा फिल्म बनाउँदा हल र सडकमा पम्प्लेट टाँस्ने, रेडियोमा विज्ञापन बजाउने, लाउड स्पिकरमा प्रचार गर्ने, रिक्सामा रेडियो झुन्डयाएर फिल्मको गीतहरू बजाउने, र्‍याली निकाल्नेजस्ता क्रियाकलाप हुन्थे । पहिले प्रचार गर्ने परम्परा भए पनि प्रचारमै बढी फोकस नहुने उनले बताए । तर फिल्म प्रचारसँगै फिल्मको विषयवस्तु सशक्त बनाउनतिर ध्यान दिनुपर्नेमा जोड दिए । ‘फिल्म जति प्रचार गरे नि फिल्म चल्ने भनेको फिल्मको कथा र विषयवस्तुले नै हो,’ उनले भने, ‘फिल्मको कन्टेन्टले दर्शकलाई छुन सकेन भने जति प्रचार गरे नि फिल्म राम्रो मानिँदैन ।’ कान्तिपुरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);