इनिस्टाले बार्सिलोना छाड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इनिस्टाले बार्सिलोना छाड्ने

iniesta

एजेन्सी, १५ बैशाख । बार्सिलोनाका कप्तान आन्द्रेस इनिस्टाले यसै सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन् । ३३ वर्षीय स्पेनिस मिडफिल्डरले क्लबमा १६ सिजन बिताउने क्रममा ६ सय ६९ खेल खेले । यसक्रममा उनले ५७ गोल र गोलका लागि अनगिन्ती अवसर सिर्जना गर्दै बार्सिलोनालाई ३१ ट्रफी जिताएका छन् ।

अर्को सिजन चिनियाँ सुपर लिग जाने हल्ला चले पनि उनले नयाँ गन्तव्यका विषयमा केही खुलाएका छैनन् । ‘मैले पहिल्यै भनेको छु कि म कहिल्यै बार्सिलोनाविरुद्ध खेल्नेछैन । त्यसैले म युरोपमा खेल्दिनँ,’ उनले भने, ‘सिजनको अन्त्यमा अझै धेरै कुरा हुन बाँकी छ ।’

बार्सिलोनाबाट उनले अहिलेसम्म चारवटा च्याम्पियन्स लिग र आठवटा ला–लिगा उपाधि जितेका छन् । यस वर्ष बार्सिलोनाले ला–लिगाको उपाधि जित्ने लगभग पक्का भइसकेकाले उनको ला–लिगा उपाधि संख्या ९ पुग्नेछ । स्पेनबाट उनले दुईपटक युरोकप र एकपटक विश्वकप जितेका छन् । सन् २०१० को विश्वकपमा स्पेनले उपाधि जित्दा फाइनलमा इनिस्टाले नै नेदरल्यान्ड्सविरुद्ध निर्णायक गोल गरेका थिए ।

सर्वाधिक कठिन क्षण
इनिस्टाले बार्सिलोना छाड्ने घोषणालाई आफ्नो जीवनकै सर्वाधिक कठिन निर्णय भनेका छन् । ‘यो मेरा लागि धेरै मुस्किलको दिन हो किनकि मैले यहीँ आफ्नो पूरा जीवन बिताएको छु र अब बिदा हुने भन्दै छु,’ पत्रकार सम्मेलनमा भावुक देखिएका इनिस्टाले भने । पत्रकार सम्मेलनमा टिमका खेलाडी तथा प्रशिक्षक इर्नेस्टो भाल्भार्डे उपस्थित थिए । दुई स्टार खेलाडी लियोनल मेसी र लुइस सुआरेज भने उपस्थित थिएनन् । यद्यपि इनिस्टाले मेसीको प्रशंसा गर्न छुटाएनन् ।

सञ्चारकर्मीहरूले १४ वर्ष एकसाथ खेलेका मेसीसँगको सम्बन्धलाई लिएर प्रश्न तेस्र्याएपछि उनले भने, ‘उनीसँग हरेक चमत्कारिक क्षणहरू बाँड्नु र दैनिक रूपमा समय बिताउनु ठूलो विषय हो किनकि मेरो विचारमा उनीजस्तो चामत्कारिक कोही पनि छैन र कहिल्यै हुनेछैन ।’

इनिस्टा यस सिजन पनि क्लबका लागि महत्वपूर्ण सावित भएका छन् । आइतबार सेभियामाथि बार्सिलोनाले कोपा डेल रेको फाइनलमा ५–० को जित हासिल गर्दा उनले पनि गोल गरेका थिए । यस सिजन अब बार्सिलोनाले ५ खेल मात्रै खेल्न बाँकी छ । आइतबार डिर्पोटिभो ला कोरुनाविरुद्धको खेलमा पराजित हुनबाट जोगिए बार्सिलोनाले उपाधि पक्का गर्नेछ । इनिस्टा १२ वर्षको उमेरमै बार्सिलोनाको युवा एकेडेमी ला मासियामा आबद्ध भएका थिए ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);