भेटीबाटै मनकामनाको जिर्णोद्धार, मन्दिर पुनर्निर्माणमा १८ किलो सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भेटीबाटै मनकामनाको जिर्णोद्धार, मन्दिर पुनर्निर्माणमा १८ किलो सुन

manakamana mandir

गोरखा, ६ बैशाख । दर्शनार्थीको चन्दा र भेटीबाटै गोरखाको मनकामना मन्दिरको जीर्णोद्धार हुने भएको छ। परम्परागत शैलीमा निर्माण भइरहेको मनकामना मन्दिर जीर्णोद्धारमा १८ किलो सुन उपयोग हुनेछ। अहिलेसम्म १६ किलो सुन उपयोग भइसकेको छ। ‘जीर्णोद्धारमा १६ किलो सुनको जलप (इलेक्ट्रोप्लेटिङ) लगाइसकिएको छ, फिनिसिङमा २ किलो लाग्न सक्छ’, मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले भने।

उनका अनुसार माथिल्लो छानोमा सुनको जलप लगाउने काम सकिएको छ। तल्लो छानोमा जलप लगाउने काम भइरहेको छ। नागकन्या, निगाल मूर्ति र ढोका लगायतमा सुन लगाउन बाँकी छ। सचिव श्रेष्ठका अनुसार पुरातत्व विभागको लागत अनुमानभन्दा ६ किलो सुन बढी लाग्ने भएको छ। विभागले मन्दिरमा १२ किलो सुन लाग्ने अनुमान गरेको थियो। १ तोलाले ४ स्क्वायर सेन्टिमिटर जलप लगाउनले विभागको अनुमान थियो तर १ तोलाले ३ स्क्वायर र बुट्टामा २ स्क्वायर सेन्टिमिटरका दरले सुन लगाइएको छ। उनले आगामी दसैंसम्म निर्माण पूरा हुने गरी मन्दिरको जीर्णोद्धार तीव्र गतिमा भइरहेको जानकारी दिए।

सचिब श्रेष्ठका अनुसार ०६७ सालमा जीर्णोद्धार समिति गठन गरी ०६८ चैत २२ मा जीर्णोद्धार थालिए पनि ०७२ को भूकम्पपछि जेठ २५ गते गजुर खोलेर मन्दिर भत्काउन सुरु गरियो। १९९० सालको भूकम्पमा मन्दिर १५ डिग्री ढल्किएको थियो। मनकामना मन्दिरको संरचना देशको सबैभन्दा बलियो रहेको दाबी गरिन्छ। सचिव श्रेष्ठले भने, ‘फाउन्डेसनदेखि इन्टरलकसम्म बलियो छ।’ भक्तपुरबाट कालिगढ ल्याएर मौलिक कला, परम्परा र संस्कृति जगेर्ना गरी बलियो संरचना निर्माण भइरहेको उनले दाबी गरे। जीर्णोद्धार गर्न सरकारले ४ करोड रुपैयाँ अनुदान दिएको छ। सरकारले आव २०६७/०६८ मा १ करोड र २०६९/०७० मा ३ करोड रुपैयाँ दिएको छ।

भेटी, चन्दा, दाता र स्थानीयको सहयोगमा मन्दिर पुनर्निर्माण भइरहेको छ। ‘सरकारले दिएको रकमले मात्र पुनर्निर्माण गर्न पुग्दैन, भेटी, चन्दा र सम्पर्कका आधारमा चन्दा मागेर र स्थानीय सहयोगमा मन्दिर जीर्णोद्धार गरिरहेका छौं’, उनले भने। ‘मनकामना माताको कृपाले मन्दिर बनाउन रकम अभाव भएको छैन’, श्रेष्ठले भने, ‘सबैको सहयोगमा निर्माण भइरहेको छ।’ पुनर्निर्माणमा आवश्यक काठ चारकोसे झाडीबाट ल्याइएको छ। कतिपय काठका नाल स्थानीयले बोकेर ल्याएका छन्। बाँस श्रमदानबाट प्राप्त भएको छ। हीराकाजी महर्जनले सम्पूर्ण इँटा निःशुल्क उपलब्ध गराएका छन् भने सुन्दरलाल खड्गीले तामाका सबै पाता उपलब्ध गराएका छन्। मन्दिर भत्काउन ६ महिना लाग्ने अनुमान गरिए पनि दुई महिनामा नै भत्काइयो।

विभाग र गुठी संस्थानको अनुमान लागतमा पुनर्निर्माण गर्न साढे ८ करोड रुपैयाँ लाग्ने उल्लेख छ। अहिलेसम्म सुनबाहेक ४ करोड रुपैयाँ खर्च भइसकेको सचिव श्रेष्ठले बताए। उनका अनुसार मन्दिर पुनर्निर्माणमा १६ देखि १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जीर्णोद्धार समिति अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठको भनाइमा दसैंसम्म मूल मन्दिरमा पूजाआजा गर्ने गरी काम भइरहेको छ। उनले मन्दिरपछि पाटी, पौवा, धर्मशाला र संग्रहालय निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए।

चण्डी पूर्णिमामा गजुर प्रतिस्थापना गरिने

वैशाखमा पर्ने चण्डी पूर्णिमाका दिनमा गजुर प्रतिस्थापना गर्ने तयारी भइरहेको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले बताए। ‘चण्डी पूर्णिमाका दिन शुभसाइत भएकाले गजुर प्रतिस्थापना गर्ने तयारी भइरहेको छ’, उनले बताए। गजुरमा ३६ तोला सुन प्रयोग गरिएको छ। मनकामना मन्दिरमा पृथ्वीनारायण शाहले पहिलोपल्ट सुनको गजुर प्रतिस्थापना गरेका थिए। अन्नपुर्णपोष्टमा खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);