पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

purus sir mahila bahini

काठमाडौँ, ४ बैशाख । महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ ।

कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अलि नजिक भएर बोल्यो भने चरित्रमाथि शंका गर्ने परिपाटी पनि छँदै छ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको छ, उनीहरू खुलेर कार्यालय क्षेत्रमा सम्बन्ध विस्तार गर्नसमेत हिच्किचाउँछन् ।

यी हुन्, वन क्षेत्रमा काम गर्ने महिला कर्मचारीले खेपेका सुन्दा साधारण लाग्ने तर यौनहिंसाअन्तर्गत पर्ने समस्या । पछिल्लो समय महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न केही पहल भएका छन् । दुई वर्षदेखि महिला वन प्राधिकरण सञ्जालले थालेको हिंसाविरुद्धको अभियान यस्तै पहल हो । उनीहरूले दुई वर्षको अवधिमा झन्डै एक दर्जन क्षेत्रमा पुरुष र महिला कर्मचारीलाई सँगै राखेर आफूमाथि भएका हिंसा पहिचान गर्ने विषयमा कार्यशाला गोष्ठी सञ्चालन गरेका छन् । सञ्जालले दुई वर्षमा विभिन्न जिल्लामा गोष्ठी गरिसकेको सहायक वन अधिकृत दीपा ओलीले बताइन् ।

यो अनौपचारिक सञ्जालमा झन्डै तीन सय महिला कर्मचारी छन् । सञ्जालले गोष्ठीजस्ता कार्यक्रमका साथै सामाजिक सञ्जालमार्फत पनि सचेतना जागृत गराउने गरेको छ । केन्द्रीय वन तालिम तथा प्रसार केन्द्र प्रमुख राधा वाग्लेले कार्यालय क्षेत्रमा महिलामैत्री वातावरण सिर्जना गराउन यस्तो अभियान आवश्यक रहेको बताइन् । ‘वनक्षेत्र अरूभन्दा बढी संवेदनशील हो,’ उनले भनिन्, ‘फिल्डमा समेत खटिनुपर्दा महिलाले थुप्रै समस्या झेल्नुपरेको छ ।’ सुरुमा महिला हिंसा छैन भनिएका ठाउँमा पनि डरलाग्दो अवस्था पाइएको उनले बताइन् । उनका अनुसार शारीरिक र मानसिक हिंसासँगै आत्मसुरक्षाको समस्यासमेत भेटिएको उनले जानकारी दिइन् ।

सहायक वन अधिकृत शोभा सुवेदीसँग २८ वर्ष लामो कार्य अनुभव छ । यो अवधिमा उनले कार्यालयमा महिला र पुरुषलाई गरिने व्यवहार फरक पाएकी छन् । ‘त्यही पुरुषलाई तपाईं भनिन्छ भने म महिला भएकै कारण किन तिमी र बहिनी ’ उनले भनिन्, ‘देख्दा सामान्य लाग्ने यस्ता घटना गहिरो अर्थमा विभेद र हिंसा नै हो भन्ने लाग्छ ।’

पुरुष कर्मचारीको बाहुल्य भएका क्षेत्रमा महिलामैत्री वातारण पाएर काम गर्न गाह्रो परेको वन महिला कर्मचारी सहायक वन अधिकृत सरस्वती अर्यालले सुनाइन् । सहायक वन अधिकृत सबनम पाठक आफूमाथि हुने हिंसाको तत्कालै प्रतिकार गर्न सक्ने क्षमता महिला कर्मचारी स्वयंले विकास गर्नुपर्ने बताउँछिन् । यस्तो क्षमताको विकास गर्नसके मात्रै अभियान सार्थक हुने उनको धारणा छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।