डडेल्धुरा, ११ पुस । संविधानमा महिला पुरुषलाई समान कामका लागि समान ज्याला भन्ने व्यवस्था गरिएको भए पनि व्यवहारमा भने लागु भएको पाईदैन । डडेल्धुराका श्रमिक महिलाहरुले आफुहरुले पुरुषहरुले सरह नै काम गरेपनि बराबर ज्याला नपाएको गुनासो गरेका छन् ।
डडेल्धुराका महिलाहरु पछिल्लो समय चुलोचौकोमा मात्र सीमित नभई घर बाहिर आम्दानी गर्न तिर लागेका छन् । डडेल्धुराका महिलाहरु ज्यालादारी गरी आम्दानी गर्न थालेका छन् । डडेल्धुराका शहर तथा ग्रामिण भेगका महिलाहरु घर निर्माण, पुल, सडक, बाटो निमार्ण सम्म सक्रिय देखिन थालेका छन् । तर यहाँका महिलाहरुले पुरुषहरुले सरह ज्याला भने पाउन सकेका छैनन् । परुष र महिलाले गर्ने काम एउटै भएपनी ज्याला फरक फरक हुने गरेको कामदार महिलाहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ ले नै समान कामका लागि महिला र पुरुषलाई समान ज्याला दिनुपर्ने व्यवस्था गरिएको छ । तर यो व्यवस्थाकाबारे स्वयम श्रमिक महिलाहरु पनि सचेत हुन आवश्यक रहेको कानुन व्यवसायीहरुको भनाई छ ।
नेपालमा संघीयतामा गएसंगै स्थापित स्थानीय तहहरुले लैङ्गिक हिसा बिरुद्ध दरिलो भएर लागेको देखिँदैन । ७ स्थानीय तह रहेको डडेल्धुरामा महिला अधिकार नारा बाहेक श्रमिक महिलाहरुलाई लक्षित कार्यक्रमहरु पनि हुन सकेका छैनन् । तर डडेल्धुराको अमरगढी नगरपालिकाले भने श्रमिक महिलालाई आफुहरुले भेटेर उनीहरुको गुनासोसम्म सुनेको जनाएको छ ।
डडेल्धुरामा ज्याला मजदुरी गर्ने पुरुषहरुले दैनिक ६ सय ज्याला पाउँदै आएका छन् भने महिलाहरुलाई ५ सय मात्र दिने गरिएको छ । महिलालाई पुरुष सरहको अधिकार हुनु पर्छ, व्यवहारमा समानता हुनु पर्छ जस्ता नाराहरु धेरै लाग्ने गर्दछन् । तर समान काम गरेर समान ज्याला समेत पाउन नसक्नु दुखद कुरा हो ।




