शीतलहरले महोत्तरीको एकडारा गाउँपालिकाका दलितको जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शीतलहरले महोत्तरीको एकडारा गाउँपालिकाका दलितको जनजीवन कष्टकर

महोत्तरी, ११ पुस । शितलहर र चिसोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रमा हिमपातले त तराईमा लगातारको शीतलहरले जनजीवन कठिन बनाएको छ ।

शीतलहरसंगै बढेको चिसोले गरिव तथा दलित बस्तीहरुमा बढी नै कस्ट र पीडा दिएको छ । पश्चिमी सिरेटो लगातार आइरहँदा पनि न्यानो कपडा र पोषिलो खानेकुरा नहुँदा दलित बस्तीका बासिन्दा बाक्लो धुवाँको मुस्लो निस्कने ‘घुर’ वरिपरि बसेर न्यानो खोज्दैछन् । पात पतिङ्गर बटुलेर बालिएको आगोलाई यहाँ घुर भनिन्छ ।

गरिबीले न्यानो लुगाको जोहो गर्न नसकेपछि निकै धुवाँ आउने ‘घुर’ मै गरीब बस्तीका दलितले न्यानो खोज्न बाध्य छन् । महोत्तरीका मुसहर, चमार, दुसाध, बाँतर, डोम, मेस्तर र खत्बे लगायतका स–साना पराले झुप्रा भएका बस्तीपिच्छे अहिले यसरी बालिएका ‘घुर’ नै जाडोबाट बच्ने मुख्य स्रोत बनेको छ ।

जाडोले आफुहरुको बेहाल भएपनि स्थानीय सरकारले राहतका लागि कुनै पहल नगरेको उनीहरुको गुनासो छ । जिल्लामा रहेका बिपद ब्यवस्थापन समितिले अहिलेसम्म गरीब दलित बस्तीमा जाडो छल्नको लागि कुनै प्रकारको राहत कार्यक्रमहरु सञ्चालन गरेका छैनन् ।

यता एकडारा गाउँपालिकाले भने स्थनीयहरुलाई जाडो छल्न केही दिनमा गाउँपालिकाका चोकहरुमा दाउरा बाल्ने कार्यक्रम रहेको जनाएको छ ।

अत्यधिक चिसोका कारण श्वासप्रश्वास, रक्तचाप, निमोनिया जस्ता विरामीहरुको चाप बढ्न थालेको जलेश्वर अस्पतालले जनाएको छ । चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउने, सकेसम्म घरबाट ननिस्कने, पोषिलो तथा ताजा खानेकुरा खाएर शरिरलाई तातो राख्नु पर्ने चिकित्सकको सुझाव छ ।

चिकित्सकहरुले श्वासप्रश्वास तथा दमको समस्या भएकाहरुलाई धुवाँ आउने गरी आगो नताप्न पनि सल्लाह दिएको छ । तर गरिव तथा दलित बस्तीका सर्वसाधारणहरुलाई दम होस् या श्वासप्रश्वासकै रोग, कठ्याग्रिंने चिसोबाट बच्न बाक्लो धुवाँ आउने घुर ताप्नु नै एक मात्र विकल्प बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);