बाढीले पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित, विभिन्न जिल्लामा १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन २८, काठमाण्डौं ।
अबिरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

 

बाढी र पहिरोका कारण विभिन्न जिल्लामा १७ जनाको मृत्यु भएको छ । राप्ती नदीमा बाढी आउँदा बाँकेको राप्तीसुनारी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ । राप्तीसुनारी गाउँपालिकास्थित बैजपुरका कविराज थारुका तीन छोरीको मृत्यु भएको हो । मृतक एक जनाको भने पहिचान खुल्न बाँकि छ । थारुकी श्रीमती बेपत्ता भएकी छिन् ।

 

सुनसरीको इटहरीमा बाढीले बगाएर ६ जनाको ज्यान मृत्यु भएको छ । ट्यांग्रा खोला र बुढी खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीका कारण इटहरी र आसपासको क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । सुरक्षाकर्मीले ३ सयभन्दा बढीको उद्दार गरेका छन् ।

 

मोरङको बक्राहा नुनसरी र लोहन्द्रा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोलका ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ कुसुमेका ५६ वर्षीय मिनबहादुर थापाको मृत्यु भएको हो । अविरल वर्षाका कारण आएको पहिरोले मोटरसाइकल पुर्दा पाल्पामा ३७ वर्षीय गृहपति शाक्यको मृत्यु भएको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा झरेको पहिरोले लु १३ प ६६५ नम्बरको मोटरसाइकल पुर्दा घाइते भएका शाक्यको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार तानसेनका ४६ वर्षीय अजय श्रेष्ठ भने उपचारपछि घर फर्किएका छन् ।

 

अबिरल वर्षापछि रिउ खोलामा बाढी आउँदा चितवनको माडीमा २ सय घर डुबानमा परेका छन् । अबिरल वर्षाका कारण आएको पहिरोले नवलपरासीको दाउन्नेमा यातायात आवागमन अबरुद्ध भएको छ । बर्दघाट एस मोडबाट दाउन्ने उकालोसम्म धेरै ठाउँमा पहिरो गएकाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन बर्दघाट र दुम्किबासमा रोकिएका छन् । बाटोमा रोकिएका यात्रुले खानेकुरा र पानी नपाएर भोकभोकै बस्नु परेको बताएका छन् । सडक खुलाउन पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेको छ । भारी वर्षाका कारण रौतहटमा पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

 

लगातारको वर्षाका कारण दाङमा यातायात सेवा ठप्प भएको छ । बबई, सिस्ने, कटुवा, गुर्जे, पत्रे र ग्वार खोलामा यसवर्षकै धेरै बाढी आएको प्रहरीले जनाएको छ । राप्ती र बबईमा रातिदेखि नै पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले नदी आसपासका क्षेत्रका नागरिकलाई उच्च सर्तक हुन आग्रह गरेको छ । प्रशासनले स्थानीयवासीलाई सम्भावित जोखिमबाट बचाउन राप्ती र बबई नदी आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । बबई नदीमा पानीको सहत बढेपछि बर्दिया जिल्ला प्रशासनले नदी किनारका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बर्दियामा भादा नदीमा पनि पानीको सहत बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।

 

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);