एजेन्सी, २६ चैत । सिरियाको गुटास्थित विद्रोहीको कब्जामा रहेको डुमा शहरमा भएको रासायनिक ग्यास हमलाको चौतर्फी विरोध भएको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कार्बाही गर्न माग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डुमा शहरमा रासायनिक हमला गरेकोमा सिरियाली राष्ट्रपति बसर अल असदलाई जनावरको संज्ञा दिएका छन् ।
ट्रम्पले असदलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । उनले क्रुरतापूर्ण आक्रमण गर्न असदलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानले साथ दिएको आरोप लगाए । बेलायतले पनि सिरियामा भएको घटनाको तत्काल छानविन गर्नुपर्ने माग गरेको छ ।
क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रासायनिक हमलालाई विनाशकारी अस्त्रको अनुचित प्रयोग भन्दै निन्दा गरेका छन् । रुसले भने रासायनिक हमलामा आफ्नो संलग्नता नरहेको बताएको छ ।
रासायनिक ग्यास आक्रमणपछि डुमा शहरको स्थिति निकै भयावह देखिएको छ । विद्रोही नियन्त्रित डुमा शहरमा गरिएको रासायनिक ग्यास हमलामा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।




