सिंहदरबारभित्र चोरी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिंहदरबारभित्र चोरी

singhadurbar

काठमाडौं, १० चैत । मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र भएका अधिकांश चोरी घटनामा त्यहीँ कार्यरत केही कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेको छ । सुरक्षाको दृष्टिले अति संवेदनशील सिंहदरवारभित्रका विभिन्न मन्त्रालयमा चोरी गर्नेहरू चोरीजन्य अपराधमा पेसेवर मन्त्रालयकै कर्मचारी भएको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअगाडि पार्किङमा राखेको मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर टाँडीका ३२ वर्षीय रमेश सुनार र ३० वर्षीय दिनेश सुनार रहेका छन् । रमेश मन्त्रालयकै कार्यालय सहयोगी हुन् ।

मन्त्रालयका एकजना अधिकृतले प्रयोग गर्दै आएको बा. १ बा ९९३१ नम्बरको सरकारी मोटरसाइकल चैत १ गते दिउँसो एक्कासि हराएपछि खोजीका लागि प्रहरीलाई उजुरी गरिएको थियो । सिंहदरबार वृत्तबाट खटिएको प्रहरीले मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई सोधपुछ गरे पनि कसैले कुनै किसिमको जानकारी नभएको प्रतिक्रिया दिएको वृत्तका प्रमुख अपिल बोहराले बताए ।

तर, पार्किङ क्षेत्रमा आवतजावत गरिरहेका रमेशमाथि शङ्का लागी पुनः सोधपुछ गर्दा भाइ दिनेशलाई काठमाडौँ बोलाई मोटरसाइकल चोरी गरी चितवन पु¥याएको सत्य कुरा बोलेपछि मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन् ।  वृत्तका प्रहरी नायब उपरीक्षक बोहराले सिंहदरबारभित्र भएका विगतका चोरीका घटनामा पनि मन्त्रालयकै सहयोगी र चालकहरूको संलग्नता देखिएको बताए ।

यसअघि पनि चोरीको अभियोगमा मन्त्रालयकै कर्मचारी पक्राउ परेका थिए ।  सिंहदरबारभित्रका चोरी घटनामा बाहिरका चोरहरूको संलग्नता नदेखिए पनि भित्र नै पेसेवार समूह रहेको भनाइ प्रहरीको छ । मन्त्रालयभित्र कर्मचारीहरूको ल्यापटप, मोबाइल, नगद, गाडीको टायर, मोटरसाइकल, साइकल, टावेल, पर्दा, हिटर, सीएफएल बत्तीहरूसमेत चोरी हुने गरेको छ ।

मन्त्रालयभित्र हुने कतिपय चोरी घटनाको प्रहरीलाई जानकारीसमेत नआउने भएकाले त्यस्ता कर्मचारीहरूको मनोबल बढ्ने गरेको भनाइ प्रहरीको छ । मन्त्रालयबाट कलमदेखि कारसम्म चोरी हुने गरेको बताइएको छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);