कांग्रेस केन्द्रीय समिति बैठक सभापतिविरुद्ध ‘गुट लिडर’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस केन्द्रीय समिति बैठक सभापतिविरुद्ध ‘गुट लिडर’

congress meeting

काठमाडौं, १० चैत । तीनवटै तहको निर्वाचन र पार्टीलाई प्राप्त मत परिणामका विषयमा समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिविरुद्ध शीर्ष नेताहरू नै आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा शीर्ष तहका नेताहरू गुटगत आधारमा धारणा राख्दै संस्थापनविरुद्ध आक्रामक देखिएका हुन् । उनीहरूले स्थानीय तह हुँदै प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको कारण पार्टी नेतृत्व र नेतृत्वको कार्यशैली भएको आरोप लगाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता प्रकाशमान सिंहले पार्टी पराजयको कारण नेतृत्व र नेतृत्वले गरेका निर्णयहरू भएको भन्दै निर्वाचनमा पराजयको दोष पार्टी सभापतिमाथि लगाए । उनले पार्टी सभापति देउवाले पार्टी विधानलाई कुल्चिँदै अप्रजातान्त्रिक र अराजक शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाए । देउवाले गुटलाई संरक्षण गरेर पार्टीलाई इतिहासकै कमजोर बनाएको सिंहको आरोप छ ।

यसैगरी, १३औं महाधिवेशनपछि वैचारिक धारका रूपमा उदाएको नेता कृष्णप्रसाद सिटौला समूह भने पार्टी पदाधिकारीहरूले निर्वाचनमा स्पष्ट नीति, कार्यदिशा र योजना दिन नसक्दा हार बेहोर्नुपरेको बताएको छ । बैठकमा बोल्दै नेता सिटौलाले नेतृत्वको स्वैच्छाचारी, अपारदर्शी र सामन्तवादी व्यवहारका कारण कांग्रेसले तीनै तहको निर्वाचनमा हार बेहार्नुपरेको बताए ।

सिटौलाले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई संविधान जारी भएपछि प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, निर्वाचन एकतर्फी गठबन्धनलगायतका विषयमा आफूले समयमै नेतृत्वलाई सचेत गराए पनि सुनुवाइ नभएको बताए । सभापतिले निर्वाचनका बेला उम्मेदवार छनोट गर्दा समेत एकलौटी ढंगले निर्णय गरेको र टिकट वितरणमा मनोमानी गरेको उनको आरोप छ ।

उनले तत्काल महाधिवेशन गरेर पार्टी परिर्वतनतर्फ उन्मुख भएको सन्देश दिन ढिला गर्न नहुने भन्दै अन्यथा देश कम्युनिस्ट शक्तिको कब्जामा पर्नेतर्फ बैठकमा ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवा निकट नेता डा. नारायण खड्काले नेताहरू पराजयको जिम्मा नेतृत्व मात्रै नभएको धारणा राखेका छन् । उनले समग्र पार्टी प्रणाली र नेताहरू नै दोषी रहेको भन्दै संस्थापनलाई रक्षात्मक बनाउन खोजेका छन् । नेताहरूले बोल्ने क्रम जारी रहेका कारण बैठक आज (शनिबार) बिहान ११ बजे पुनः बस्नेछ ।

दर्जन कमजोरी
पार्टी विधान मिचेको
गुटको संरक्षण गरेको
नीति, कार्यदिशा र योजना नभएको
स्वैच्छाचारी, अपारदर्शी र सामन्ती
ढंगबाट टिकट वितरण
सम्बोधन गर्दा ज्ञापनपत्र पढेको
अन्तर्वार्तामा हास्यास्पद व्यवहार
जम्बो सरकार बनाएको
कुर्सीका लागि पार्टीलाई जोखिममा पारेको
नाकाबन्दीविरुद्ध बोल्न नसकेको
माओवादी केन्द्रस“ग सत्ताको खेलमा लागेको
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);