सांसदको शपथ आज | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सांसदको शपथ आज

sapthat

काठमाडौँ, २० फागुन । निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले आइतबार शपथ लिँदैछन् । मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसदको संसद् भवन प्रवेशमा ढिलाइ भएको हो ।

शपथको भोलिपल्ट फागुन २१ मा संसदको पहिलो बैठक बस्दै छ । सोमबार अपराहन ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको अलग–अलग बैठक बोलाइएको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले शपथ र पहिलो बैठकका लागि सबै तयारी पूरा भएको बताए । सचिवालयले आइतबार बिहान सर्वदलीय बैठकसमेत डाकेको छ । शपथग्रहणदेखि पहिलो बैठकको कार्यसूची निर्धारण सम्बन्धमा दलहरूसँग छलफल गर्ने तयारी छ । बैठकमा सचिवालयले तयार पारेको संसद् सञ्चालनको अन्तरिम कार्यविधिमाथि दलहरूबाट साझा सहमति जुटाइनेछ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने सम्भावना छ । सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथग्रहण आइतबार हुने छैन । अघिल्लो सरकारबाट सिफारिस व्यक्तिलाई मनोनीत नगरी नयाँ सरकारले सिफारिस गरेकालाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेपछि उक्त विषय अदालत पुगेको हो । अदालतले तत्काललाई उनीहरूको शपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी पनि शपथमा आउने छैनन् । जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ । सरकारी कागज किर्ते अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट विजयी एमाले सांसद नवराज सिलवाल शनिबार नै संसद् भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उपस्थित भएकाले उनी शपथग्रहण कार्यक्रममा पनि सहभागी हुनेछन् । उनले आफूविरुद्ध कुनै सरकारी मुद्दा मामिला नरहेको भन्दै शपथमा सरिक हुने बताए । जब कि विजय जुलुससमेत निकाल्न नभ्याउँदै उनी प्रहरीको खोजी सूचीमा राखिएका थिए । लामो समय गुपचुप रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सार्वजनिक रूपमा देखिन थालेका हुन् ।

दुवै सभामा सांसदको शपथ ज्येष्ठ सदस्यले गराउनेछन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रिय सभाको ५ बजे आफ्नै सभाकक्षमा शपथ समारोह हुनेछ । प्रवक्ता गौतमले शपथमा उपस्थितिका लागि सार्वजनिक सूचना र राजनीतिक दलहरूलाई जानकारी गराइएको बताए । आफ्नै कारण अनुपस्थित रहने सांसदका हकमा शपथका लागि पछि निर्णय हुने उनले जनाए । प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभामा सभाध्यक्षको चयन नभएसम्म तिनै ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेछ ।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभामा राजपा नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ । यद्यपि सांसद यादवको उमेर विवादित बनेको छ । ७० वर्ष पुग्दै गरेका यादव नागरिकताका आधारमा ८० वर्षका देखिन्छन् । यही आधारमा उनी ज्येष्ठ सदस्य भएका हुन् । तर सचिवालयले नागरिकताबाहेकलाई आधार मान्ने कुनै उपाय नरहेको भन्दै यादवबाटै शपथको तयारी गराइसकेको छ । यादव र भट्टले आइतबार दिउँसो १ बजे राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम छ । त्यसपछि मात्रै उनीहरूले अन्य सदस्यलाई शपथ गराउने हुन् ।

४४ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने जानकारी सचिवालयलाई गराएका छन् । सचिवालयले मागेअनुसार उनीहरूले शपथ व्यहोरालाई मातृभाषामा अनुवाद गरी बुझाइसकेका छन् । ती सांसदले फरक–फरक मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ गरी १० मातृभाषामा शपथ लिनेछन् । अन्य सांसदले नेपाली भाषामै शपथ लिनेछन् । आजको कान्तिपुरमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);