बढुवा सिफारिस नगर्दा डीआईजी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बढुवा सिफारिस नगर्दा डीआईजी मर्कामा

police

काठमाडौं, २० फागुन । साउनदेखि प्रहरीमा १२ जना डीआईजीको दरबन्दी रिक्त रहँदारहँदै एसएसपी कृष्णप्रसाद गौतम उमेरहदले फागुन २३ गते अवकाश पाउँदै छन्। आईजीपी प्रकाश अर्याल संगठनका रिक्त दरबन्दीमा बढुवाको सिफारिस नगर्दा ५५ बर्से गौतम उमेरहदले अवकाश पाउन लागेका हुन्। उनी आईजी अर्यालसँगै एउटै समूहमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।

प्रहरी नियमावलीअनुसार एसएसपीको उमेरहद ५५ वर्ष मात्र हुने व्यवस्था छ। उनले बढुवाका लागि बारम्बार आग्रह गर्दा पनि आईजीपी अर्यालले ‘हुन्छ हुन्छ’ भन्दै टार्दै आएको बताइन्छ। अर्याल एआईजी बमबहादुर भण्डारीलाई निमित्त दिएर अहिले ४ दिनको घरबिदामा भतिजाको बिहेमा गृहजिल्ला दाङ पुगेका छन्। उनी फागुन २२ गते मात्र काममा फर्किने तयारीमा रहेको स्रोतले बताएको छ। गौतमको सेवा अवधि फागुन २३ सम्म मात्र भएकाले प्रक्रिया पूरा भएर डीआईजीमा बढुवा हुन नभ्याउने निश्चितजस्तै छ। बढुवा प्रक्रिया सुरु भए पनि सूची प्रकाशनपछि उजुरी म्याद ७ दिन र उजुरी परे सुनुवाइ हुन अर्को ७ दिन लाग्ने भएकाले उनी अनिवार्य अवकाशमा पर्ने निश्चितजस्तै भएको हो।

‘सरकारले अझै न्याय गर्नेमा म ढुक्क छु। व्यक्ति ठूलो कुरा होइन, विधि, विधान र न्याय महत्वपूर्ण हो। व्यक्तिले न्याय भए\नभएको विषय नेतृत्व र सरकारले विचार गर्ने हो’, एसएसपी गौतमले भने, ‘३० वर्ष देश र जनताको सेवा गरेको मेरा लागि वृत्ति विकास महत्वपूर्ण हुन्छ।’ गौतमसहित दरबन्दी रिक्त रहँदारहँदै पनि यसअघि एसएसपी यादवराज खनाल, मिलन बस्नेत र बलराम पौडेलले पनि यसैगरी अवकाश पाएका थिए।

गौतम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका जेठान हुन्। उनले पराजुलीमार्फत समेत बढुवाका लागि दौडधूप गरे पनि अर्यालले सुनेको नसुनैजस्तो गरेको स्रोतले बतायो। साउनमै दुई दरबन्दी रिक्त भएको डीआईजी पदमा अहिले १२ दरबन्दी रिक्त छन्। रिक्त २ दरबन्दीमा बढुवा आकांक्षी धेरै जना भएकाले दरबन्दी थप्न पटकपटक अर्यालले गृहसँग माग गरेका थिए। बढुवा गर्न नसकेपछि अर्याल अहिले संगठनभित्रै निकै आलोचित हुँदै गएका छन्। एक एसएसपीले भने, ‘पहिला दरबन्दी पुग्दैन भनेर माग्ने तर रिक्त भएका पदमा बढुवा नगर्ने। लामो समय देश र संगठनका लागि गरेको कामको के अर्थ रह्यो र ’

गृहसचिव मोहनकृष्ण सापकोटाले बढुवासम्बन्धमा आईजी अर्यालसँग सोध्न आग्रह गरे। उनले भने, ‘को कहिले अवकाश पाउँछ, मलाई थाहा हुने विषय होइन। किन बढुवा भएन त्यो आईजीपीसाबसँग सोध्नोस्।’ प्रहरीको बढुवा समितिको संयोजक गृहसचिव रहने व्यवस्था छ। स्रोतका अनुसार अर्यालले पटक–पटक सचिव सापकोटासँग समितिको बैठक राखेर रिक्त दरबन्दीमा बढुवा गर्न आग्रह गर्दा अहिले नगरौं भन्दै गृहसचिव सापकोटाले टार्दै आएको स्रोतले बताएको छ। आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);