अबको पाँच वर्ष ‘विकास वर्ष’ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अबको पाँच वर्ष ‘विकास वर्ष’ : प्रधानमन्त्री

pm kpoli

काठमाडौं, २० फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई संघीय संसद्मा शपथग्रहणको एक दिनअघि पार्टीको राजनीतिक लाइन, संसद्मा निभाउनुपर्ने भूमिकालगायत विषयमा संयुक्त रूपमा प्रशिक्षण दिएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा संयुक्त रूपमा उम्मेदवारी दिएका दुई दलले संसद् सुरु हुनु एक दिनअघि शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै पार्टीका सांसदहरूलाई प्रशिक्षणको आयोजना गरेर केही दिनभित्रै दुवै पार्टी एक हुने र दुवै पार्टीको एउटै साझा लक्ष्य विकास र समृद्धि रहेको समेत स्पष्ट पारेका छन् ।

गत ७ फागुनमा दुई पार्टी एकताका सात आधारमा सहमति गरेका दुई दलले पार्टी एकताका लागि दुई कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाइरहेका छन् । आज (आइतबार) देखि सुरु हुने संघीय संसद्मा कसरी प्रस्तुत हुने र दुई पार्टीको अबको राजनीतिक लाइन के रहने भन्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसंविधानसभा अध्यक्ष सुवाचन्द्र नेम्वाङले सांसदहरूलाई प्रशिक्षण दिएका थिए ।

सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अबको उद्देश्य देशको विकास र समृद्धि रहेको भन्दै लोभ लालचमा नअल्झिन सांसदहरूलाई निर्देशनदिएका थिए । उनले अबको पाँच वर्षको अवधिमा देशले विकास र समृद्धिमा फड्को मार्ने दाबी गर्दै पाँच वर्ष ‘विकास वर्ष’ बनाउने घोषणासमेत गरे ।

ठुल्ठुला विश्वविद्यालयले गर्न नसकेको काम हामीले डेढ महिनामै गर्यौ, यो त सामान्य कुरा होइन, एकले अर्कालाई हेर्न नचाहने र सँगै बस्न नचाहने अवस्था थियो तर अहिले एउटै थालमा खान थालेका छौं । पुष्पकमल दाहाल
प्रशिक्षणमा ओली सर्वोच्च अदालतप्रति भने कडा रूपमा प्रस्तुत भएका थिए । उनले राष्ट्रिय सभामा सिफारिस गरिएका तीन जनाको नाम अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेश दिन आवश्यक नै नभएको समेत दाबी गरे । राष्ट्रिय सभामा तीन जनाको मनोनयन कसैले रोक्न नसक्ने उनको भनाइ थियो । ‘हामीले सिफारिस गरेर राष्ट्रपतिले मनोनयनको विषयमा प्रश्न उठाउनुपर्ने नै थिएन’, उनले भने, ‘राष्ट्रपतिबाट जे निर्णय गर्नु भएको छ, त्यही अन्तिम हुन्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने प्रतिबद्धतासमेत गरेका थिए । एमाले र माओवादी दुवै दलका सांसदहरूलाई संयुक्त प्रशिक्षण दिँदै माओवादी अध्यक्ष दाहालले तत्कालका लागि सुशासन र समृद्धि वाम सरकारको लक्ष्य रहेको बताए । दाहालले पार्टी एकता होला भनेर कसैले नसोचेको भन्दै ऐतिहासिक पहलकदमीमा पार्टी एकता हुँदै गरेको र यसले विश्व समुदायमा आतंक, तरंग र छाल पैदा भएको दाबी गरेका थिए ।

एमाले–माओवादी एकता केही दिनभित्रै हुने दाबी गर्दै दाहालले एमाले र माओवादीको संसदीय दल बैठक संयुक्त हुनु पनि क्रमभंगता भएको उल्लेख गरे । ‘केही दिनमै पार्टी एक हुन्छ, संसदीय दल एक हुन्छ,’ उनले भने ।

उनले एमाले र माओवादी वैचारिक विषयमा अड्किएको भए अहिल्यै एकता प्रक्रिया नै अघि बढ्न नसक्ने भन्दै अहिले एमाले माओवादीले एउटै थालमा खान थालेको बताए । ‘ठुल्ठुला विश्वविद्यालयले गर्न नसकेको काम हामीले डेढ महिनामै गर्यौ, यो त सामान्य कुरा होइन,’ संयुक्त प्रशिक्षणमा उनले भने,

‘एकले अर्कालाई हेर्न नचाहने र सँगै बस्न नचाहने अवस्था थियो तर अहिले एउटै थालमा खान थालेका छौं ।’ दाहालले देश धनी नभएसम्म समाजवाद आउन नसक्ने भन्दै समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धि र विकासलाई उचाइमा पुर्याउनैपर्ने बताए । आजको राजधानी दैनिकमा यस्तो खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);