न्युजिल्याण्डको आम निर्वाचनको अन्तिम नतिजाले कुनैपनि राजनीतिक गठबन्धनलाई स्पष्ट बहुमत नदिएपछि त्यहाँ त्रिशंकु संसद बन्ने भएको छ । यससँगै नयाँ सरकार गठन अनिश्चित बनेको छ भने पुनः निर्वाचन हुन सक्ने सम्भावनासमेत देखिएको छ । निर्वाचन आयोगले शुक्रवार सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी सम्मिलित सत्तारुढ गठबन्धनले ६५ सिट जितेको छ । संसद्मा बहुमतका लागि ६६ सिट आवश्यक पर्ने भएकाले गठबन्धन एक सिटले पछाडि परेको हो । त्यस्तै, विपक्षी दलहरूले संयुक्त रूपमा ५८ सिट जितेका छन् । विपक्षी गठबन्धनमा लेबर पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नोभेम्बर ७ मा सम्पन्न आम निर्वाचनको करिब तीन सातापछि सार्वजनिक अन्तिम नतिजाअनुसार संसद्को आकारसमेत बढेको छ । सामान्यतया १२० सदस्यीय रहने संसद्मा यसपटक १० वटा अतिरिक्त सिट थपिएपछि सदस्य संख्या १३० पुगेको छ । निर्वाचन क्षेत्रमा प्राप्त सिट पार्टीले पाएको समानुपातिक मतको हिस्साभन्दा बढी हुँदा सम्बन्धित दललाई अतिरिक्त सिट दिनुपर्ने अवस्थालाई ओभरह्याङ सिट भनिन्छ । अन्तिम नतिजाअनुसार नेसनल पार्टीले ४० सिट प्राप्त गरेको छ । प्रारम्भिक नतिजाको तुलनामा उसको सिट संख्या दुईले घटेको हो ।
पूर्वप्रधानमन्त्री क्रिस हिप्किन्स नेतृत्वको लेबर पार्टीले भने ३६ सिट कायम राखेको छ । लेबरले नेसनल पार्टीबाट वाइरारापा र ह्यामिल्टन इस्ट निर्वाचन क्षेत्र जितेको छ । यद्यपि, ती दुवै क्षेत्रमा पुनः मतगणना हुन सक्ने सम्भावना छ । निर्वाचनमा नेसनल पार्टीले २८ दशमलव ४ प्रतिशत र लेबर पार्टीले २९ दशमलव ९ प्रतिशत पार्टीगत मत प्राप्त गरेका छन् । अन्तिम नतिजामा विदेशमा रहेका मतदाता तथा आफ्नो निर्वाचन क्षेत्रबाहिर मतदान गर्ने व्यक्तिले दिएको करिब चार लाख विशेष मतसमेत समावेश गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनकै दिन सार्वजनिक प्रारम्भिक नतिजामा यी मत समावेश थिएनन् । विशेष मत गणना गर्दा सिट बाँडफाँटमा परिवर्तन आएको हो । विपक्षी दल ग्रिन पार्टीले लेबर पार्टीबाट वेलिङ्टन बे निर्वाचन क्षेत्र जित्नुका साथै समानुपातिक सूचीबाट थप एक सिट प्राप्त गरेको छ । यसैगरी, सत्तारुढ गठबन्धनका साझेदार एसीटी पार्टीले १३ र न्युजिल्याण्ड फस्र्टले १२ सिट जितेका छन् । सरकार र विपक्षी दुवै गठबन्धनभन्दा बाहिर रहेको अपरच्युनिटी पार्टीले सात तथा विपक्षी माओरी पार्टीले पाँच सिट प्राप्त गरेका छन् । अन्तिम नतिजापछि सरकार गठन गर्न सत्तारुढ गठबन्धनलाई अपरच्युनिटी पार्टीको समर्थन आवश्यक पर्ने भएको छ । विपक्षी दलहरूले पनि उक्त पार्टीको सात सिटको समर्थन पाए मात्र बहुमत पु¥याउन सक्ने छैनन् ।
अपरच्युनिटी पार्टीकी नेतृ किउलाए वोङले अन्तिम नतिजा सार्वजनिक भएपछि स्थिर सरकार गठनका लागि आफ्नो पार्टीले पहल गर्ने बताउनुभएको छ । यद्यपि, अन्य दलसँगको वार्ता आवश्यक रहेको उल्लेख गर्दै उहाँले पुनः निर्वाचनको सम्भावनालाई पनि अस्वीकार गर्नुभएको छैन ।निर्वाचन आयोगका अनुसार सन् २०२६ को आम निर्वाचनका लागि न्युजिल्याण्डमा करिब ३८ लाख मतदाता प्रारम्भिक रूपमा दर्ता भएका छन् । यो अनुमानित योग्य मतदाता संख्याको ९३ दशमलव ६ प्रतिशत हो । सन् २०२३ मा ९४ दशमलव ७ र सन् २०२० मा ९४ दशमलव १ प्रतिशत मतदाता दर्ता भएका थिए ।न्युजिल्याण्डमा संसद् निर्वाचनका लागि मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली (एमएमपी) अपनाइन्छ । यस प्रणालीमा मतदाताले राजनीतिक दल र आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारलाई गरी दुईवटा मत दिन्छन् । सामान्यतया दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ ।




