साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८३, शनिबार

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

साउदी अरबको जजान क्षेत्रमा रहेको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आक्रमणमा विभिन्न देशका अन्य केही नागरिक घाइते भएका छन् । साउदी अरबको ऊर्जा मन्त्रालयले बिहीवार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै प्रशोधन केन्द्रलाई लक्षित गरी हवाई आक्रमण भएको जनाएको हो । मन्त्रालयकाअनुसार आक्रमणमा प्रयोग भएको हवाई प्रक्षेप्य प्रशोधन केन्द्रमा खसेपछि आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिइए पनि सुरक्षाका कारण केन्द्रका केही गतिविधि अस्थायी रूपमा बन्द गरिएको छ । घाइतेहरूको अवस्था फरक–फरक रहेको र उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको मन्त्रालयले जनाएको छ । यसैबीच, यमनको हुथी समूहले पछिल्लो ४८ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमा महिला तथा बालबालिका पनि रहेको जनाएको छ । घाइतेमध्ये छ बालबालिका र पाँच महिला रहेको समाचारमा उल्लेख छ ।

उक्त टेलिभिजनका अनुसार यमनको लालसागर तटीय क्षेत्र होदेदाहस्थित ढल प्रशोधन केन्द्र तथा अन्य स्थान, उत्तरपश्चिमी प्रान्त हज्जाहमा कृषि उपकरण र उत्तरी सीमावर्ती प्रान्त सादाका बस्तीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । यद्यपि, हुथी समूहले सार्वजनिक गरेको हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । बिहीवार सिन्ह्वासँग कुरा गर्दै स्थानीय बासिन्दाहरूले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको पुष्टि गरेका छन् । विशेषगरी राजधानी साना र होदेदाहमा व्यापक बमबारी भएको उनीहरूको भनाइ छ । यमनको हुथी समूह र साउदी अरब नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्ला आक्रमणका घटना भएका हुन् । केही दिनयता हुथी समूहले साउदी अरबका विमानस्थल, बन्दरगाह तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गरेको दाबी गर्दै आएको छ । त्यसको जवाफमा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण तिब्र बनाएको हुथी सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार