काठमाडौँ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताउनुभएको छ । उद्योगमा रहेका पुराना मेसिन तथा उपकरणको अवस्था अध्ययन गरी तिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योगलाई नयाँ जीवन दिन सकिने उहाँको भनाइ छ । शुक्रवार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भएपनि अझै काम गर्न सक्ने अवस्थामा रहेको बताउनु भयो । विगतमा प्रयोग हुँदै आएका मेसिनलाई तत्काल विस्थापित गर्नुभन्दा तिनको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्नुपर्ने उहाँको धारणा छ । मन्त्री पुनले उद्योगमा आवश्यक पर्ने सानातिना पार्टपुर्जा तथा उपकरण स्वदेशमै उत्पादन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्ने बताउनु भयो । यसका लागि प्राविधिक टोली निर्माण गरी उद्योगका मेसिन र उपकरणको विस्तृत अध्ययन गर्नुपर्ने उहाँले बताउनु भयो ।
उद्योगमा विगत २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरू रहेकाले उनीहरूको अनुभव र ज्ञान उद्योगको पुनः सञ्चालनका लागि महत्वपूर्ण हुनसक्ने मन्त्री पुनले बताउनु भयो । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउन नसके पनि अनुसन्धान र नवप्रवर्तनका काममा सहयोग गर्नसक्ने उहाँले उल्लेख गर्नुभयो । ‘रिसर्च एण्ड इनोभेसन’ पैसाले मात्र सम्भव नहुने उल्लेख गर्दै मन्त्री पुनले त्यसका लागि दक्ष र बलियो प्राविधिक टोली आवश्यक पर्ने बताउनु भयो । उहाँले तत्काल विगतकै अवस्थामा उद्योग सञ्चालन गर्न सम्भव नभए पनि चारदेखि सात सय जनासम्मलाई रोजगारी दिनसक्ने गरी उद्योगलाई पुनर्जीवन दिने प्रयास गर्नुपर्ने बताउनुभयो । उद्योग सञ्चालनले आर्थिक उपार्जनसँगै स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने भएकाले सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै नयाँ प्रविधिको माध्यमबाट उद्योगलाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।
वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि २०५९ सालमा तत्कालीन सरकारले उद्योग औपचारिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो । बजार व्यवस्थापनको अभाव, प्रविधिको समयानुकूल आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङ, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बन्न पुगेको थियो ।




